Logo
Logo

फागुन २१ : तीन पूर्वप्रधानमन्त्रीको विरासत जोगिएला ?


252
Shares

काठमाडौं । नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेका तीन पूर्वप्रधानमन्त्रीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो साख जोगाउन चुनावी मैदानमा उत्रिएका छन् ।

पूर्वप्रम समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारीले यसपटकको निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै चासोको केन्द्र बनाएको छ ।

भदौ २३ र २४ गतेको चर्चित ‘जेन जी’ आन्दोलनपछि विकसित भएको नयाँ राजनीतिक चेतना, युवा अनुहारहरूको बढ्दो आकर्षण र निर्वाचन क्षेत्रमा देखिएको उम्मेदवारहरूको फेरबदलले यसपटकको परिणाम कस्तो आउला भन्ने कौतूहल सर्वत्र व्याप्त छ ।

झापा-५ मा ओली र बालेनको ‘हेभिवेट’ भिडन्त
तीन पटक मुलुकको प्रधानमन्त्री बनिसकेका नेकपा एमाले अध्यक्ष ओली यसपटक पनि झापा निर्वाचन क्षेत्र नं. ५ बाटै चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्र लामो समयदेखि एमालेको बलियो आधार इलाका मानिँदै आएको छ ।

२०७९ को निर्वाचनमा ओलीले यहाँबाट ठूलो मतान्तरसहित जित हासिल गरेका थिए । तर, यसपटक परिस्थिति फेरिएको छ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताका रूपमा बालेन शाह ओलीसँग प्रतिस्पर्धा गर्न झापा पुगेपछि यो क्षेत्र देशभरकै सबैभन्दा बढी चर्चामा छ ।

ओलीका लागि यसपटक नयाँ पुस्ताको आकर्षण र वैकल्पिक शक्तिहरूको उपस्थिति ठूलो चुनौती बनेको छ । अघिल्लो निर्वाचनमा ओलीले सोही क्षेत्रबाट चुनाव लड्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सहकार्य गरेका थिए र अन्य दलले उम्मेदवार नउठाउँदा उनलाई सहज भएको थियो ।

२०७९ को तथ्याङ्कअनुसार ओलीले प्रत्यक्षतर्फ ५२ हजार ३१९ मत ल्याउँदा एमालेको समानुपातिक मत ३५ हजार ८७२ मात्र थियो । त्यतिबेला माओवादी केन्द्र र एकीकृत समाजवादीले ८ हजार ६८० तथा राप्रपाले ७ हजार ३७० मत पाएका थिए, जुन मत उम्मेदवार नभएका कारण ओलीलाई नै गएको देखिन्छ । यसपटक भने राप्रपाले लक्ष्मीप्रसाद संग्रौला र नेपाली कम्युनिस्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

झापा ५ मा उम्मेदवारहरूको लामै सूची छ । एमालेबाट ओलीसहित नेपाली कांग्रेसबाट मन्धरा चिमरिया, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला, मंगोल नेशनल अर्गनाइजेसनबाट सान बहादुर मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पङ राई, जनमत पार्टीबाट अमृतलाल महतो, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धिरेन सुब्बा, रास्वपाबाट बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीबाट रन्जित तामाङ मैदानमा छन् ।

त्यसैगरी नेपाल जनमुक्ति पार्टीबाट पदम बहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ्ग, नेकपा (माओवादी) बाट संजय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अमृत रसाईली र पिपुल फस्र्ट पार्टीबाट धर्मराज गुरागाई उम्मेदवार छन् ।

स्वतन्त्रतर्फ डम्वर शाहु, मातृका भट्टराई, खेमनाथ शिवाकोटी, शोभा भण्डारी, प्रकाश नेपाल, अर्जुन सापकोटा, विपुल गुरागाई, रञ्जना गौतम र पुस्कर खतिवडाले पनि ओलीलाई चुनौती दिइरहेका छन् । यस क्षेत्रमा १ लाख ६३ हजार ३७९ मतदाता छन् भने ६१ मतदान स्थल र १८५ मतदान केन्द्र तोकिएको छ ।

पूर्वी रुकुममा प्रचण्ड र शहीद पुत्रको भावनात्मक टक्कर
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक माओवादी आन्दोलनको ऐतिहासिक आधार भूमि रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् । त्यहाँ एउटा मात्र निर्वाचन क्षेत्र छ, जहाँ २०७९ मा माओवादीका पूर्णबहादुर घर्ती विजयी भएका थिए । प्रचण्डलाई त्यहाँको संगठन र इतिहासको लाभ भए पनि शहीदका सन्तान सन्दीप पुनको उम्मेदवारीले निर्वाचनलाई रणनीतिक मोड दिएको छ ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका सन्दीप जनयुद्धका शहीद दम्पती सूर्यप्रकाश पुन र परम्परा गौतमका छोरा हुन् । अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष र ‘शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन’ का अध्यक्षसमेत रहेका पुनको उम्मेदवारीले माओवादीको गढमै हलचल पैदा गरेको छ ।

प्रचण्डलाई टक्कर दिन एमालेबाट लिलामणी गौतम, कांग्रेसबाट कुसुम देवी थापा, राप्रपाबाट रोशन शाह र राष्ट्रिय जनमोर्चाबाट चन्द्र प्रसाद शाही मैदानमा छन् । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, रास्वपाबाट लखन कुमार थापा, जसपाबाट शिरबहादुर बुढा, नेशनल रिपब्लिक नेपालबाट धर्म कुमार बुढा र नेकपा (माओवादी) बाट जुद्ध बहादुर बुढा मगर उम्मेदवार छन् ।

२०७९ मा त्यस क्षेत्रमा माओवादीले ८ हजार २७१ मत पाउँदा कांग्रेसले ५ हजार ६९२ र एमालेले ३ हजार ६५९ मत पाएका थिए । पुनको उम्मेदवारीले माओवादीकै मत काट्ने डर प्रचण्डमा देखिन्छ । यस क्षेत्रमा ३४ हजार ७७२ मतदाता छन् भने ४४ मतदान स्थल र ५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

रौतहट–१ मा माधव नेपाललाई चुनौती
नेकपाका सह–संयोजक माधवकुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार छन, जहाँ उनलाई यसपटक १८ दल र २१ स्वतन्त्र उम्मेदवारले चुनौती दिइरहेका छन् ।

२०७९ मा कांग्रेस र माओवादीसँगको गठबन्धनका कारण ३३ हजार ५२२ मत ल्याएर विजयी भएका नेपालका लागि यसपटक कांग्रेसले अनिल कुमार झालाई उम्मेदवार उठाएकाले बाटो सहज छैन । झा २६ वर्षपछि गृह जिल्ला फर्केर चुनावी मैदानमा उत्रिएका हुन् ।

रौतहट १ मा एमालेबाट अजय कुमार गुप्ता, कांग्रेसबाट अनिल कुमार झा, राप्रपाबाट मदन शाह, नेमकिपाबाट वैद्यनाथप्रसाद चौधरी, नेपाली जनता दलबाट संजयकुमार यादव र जनमत पार्टीबाट देवेन्द्र मिश्र उम्मेदवार छन् ।

त्यसैगरी जसपा नेपालबाट योगेन्द्र राय यादव, रास्वपाबाट राजेशकुमार चौधरी, आम जनता पार्टीबाट त्रिभुवन साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजाराम मुखिया र जय मातृभूमि पार्टीबाट रञ्जित कुमार पटेल पनि प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य छ, जसमा लक्ष्मेश्वर नारायण साह, इन्दु देवी गुप्ता, राजु कुमार मुखिया, मुनिन्द्र कुमार ठाकुर, बिबेक चौधरी, राम सेवक राय र अन्य थुप्रै अनुहार छन् ।

२०७९ को तथ्याङ्कअनुसार त्यस क्षेत्रमा कांग्रेसको १९ हजार ११९ मत छ भने एकीकृत समाजवादीको ९ हजार ५७८ मात्र । कांग्रेसले आफ्नै उम्मेदवार उठाएका कारण नेपाललाई आफ्नो मत जोगाउन निकै मुस्किल पर्ने देखिन्छ । यस क्षेत्रमा १ लाख ८ हजार ७२६ मतदाता र ६७ मतदान स्थल रहेका छन् ।

फागुन २१ को यो निर्वाचनले नेपालका यी तीन कद्दावर नेताहरूको राजनीतिक भविष्य मात्र होइन, नयाँ शक्ति र युवा पुस्ताको उदयको वास्तविक धरातल पनि स्पष्ट पार्नेछ । मतदाताको बदलिएको मनोविज्ञान र तीव्र प्रतिस्पर्धाका बीच यी पूर्वप्रधानमन्त्रीहरूले आफ्नो विरासत जोगाउन सक्छन् वा सक्दैनन्, त्यो हेर्न भने बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्