काठमाडौं। निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवारहरुले अब पाउने नगद सहयोग तथा चन्दा बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मंगलबार निर्वाचन आयोगले पारित गरेको राजनीतिक दल तथा उम्मेदवारहरूका लागि निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ बमोजिम उक्त व्यवस्था गरेको हो ।
आयोगले पारित गरेको कार्यविधिमा राजनीतिक दलका उम्मेदवारले जुनसुकै माध्यमबाट आएको रकम बैंक खातामा जम्मा गरेर मात्र खर्च गर्न पाउनेछन् ।
कार्यविधिको दफा ६ (२)मा २५ हजार वा त्यो भन्दा बढी आर्थिक सहयोग पाउने उम्मेदवारहरूले सोझै बैंक खातामा रकम प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ । तर, नयाँ कार्यविधिमा त्यो भन्दा कम रकम पनि खातामा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा स्पष्ट भनिएको छ, ‘२५ हजार वा सो भन्दा कम रकमका लागि नगदी रसिद वा भरपाई दिई बैंक खातामा जम्मा गर्नुपर्नेछ ।’ आयोगका अनुसार सरकार क्षेत्र, पब्लिक कम्पनी, विदेशी सरकार, संस्था वा व्यक्तिबाट निर्वाचनका लागि आर्थिक हयोग लिन पाइने छैन ।
साथै, आयोगले यसअघि राजनीतिक दल वा उम्मेदवारहरूद्धारा खोलिएको बैंक खातालाई समेत नयाँ प्रक्रियाबाट नियमन गर्न लागेको छ । अब, दल वा उम्मेदवारहरुले नयाँ खाता खोल्नुपर्नेछ भने पहिले खोलिएको खाताको रकम नयाँमा पठाउनुपर्नेछ ।
आयोगले निर्वाचन सकिएको ३५ दिनपछि आर्थिक सहायताका लागि खोलिएका खाता बन्द गर्नुपर्ने पनि भनेको छ । उम्मेदवार रद्द भएकाहरूको बैंक खाता तत्काल बन्द गर्नुपर्नेछ ।











