काठमाडौं । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने प्रलोभन देखाएर काठमाडौंको बुढानीलकण्ठ-८, भंगालस्थित एक घरमा ५ जना बङ्गलादेशी नागरिकलाई बन्धक बनाइ राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ती बङ्गलादेशी नागरिकहरूलाई एक घरभित्र थुनेर राखिएको अवस्थामा फेला पारिएको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ५ जना बङ्गलादेशी, १ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् ।
एसपी भट्टराईका अनुसार उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्ने बङ्गलादेशी नागरिकहरूमा बङ्गलादेश घर भएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हु र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन् ।
यस्तै, भारत घर भएका ४१ वर्षीय सरोज कुमार र नुवाकोट घर भएका ३२ वर्षीय सशि पाठक पनि पक्राउ परेका छन् ।











