काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको छ ।

गएको मङ्गलवार र बुधवार दुई दिनमा १८ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य हिजो र आज गरेर १३ हजार सात सय रुपैयाँ घटेको छ ।बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको थियो ।
अघिल्लो साताको शुक्रवारदेखि सोमबारसम्म तीन दिनमा सुनको भाउ तोलामा ५२ हजार सात सय रुपैयाँ घटेको थियो।
अघिल्लो साताको बिहीबार तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २७० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको चार हजार सात सय १० रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलाको चारहजार ९८० रुपैयाँ थियो । गत आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
गत साताको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।











