काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ भएको दाबी गरेका छन् । टी-२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै उनले नेपालको खेलले विश्वले क्रिकेट जगतमा नेपाल एउटा उदयमान नक्षत्र रहेको देखाउने बताएका हुन् ।

ओलीले रोहित पौडेल नेतृत्वको नेपाली टोलीले देशको शिर उच्च राख्ने विश्वास व्यक्त गरे । ओलीले क्रिकेट नेपालका लागि एउटा खेल मात्रै नभई प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताए । उनले भनेका छन्,‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन् । खेलाडीहरुको मेहनत र पसिनाका लागि हामी रंगशाला जस्तै पूर्वाधार निर्माण गरेर तिर्नुपर्छ, सहयोग पुर्याउनुपर्छ ।’
आइसीसी टी-२० विश्वकप खेल्न भारतको मुम्बई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज इंग्ल्यान्डजस्तो बलियो टोलीसँग प्रतिस्पर्धा गर्दै छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको इंग्ल्यान्डसँग पहिलो भेट हुन लागको हो। समूह सीमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् ।
पछिल्लो पटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट ३ सय दिनभित्र त्रिवि रंगशालामा दर्शक बस्न मिल्ने प्याराफिट, रात्रीकालीन खेलका लागि फ्लडलाईट जडान गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेका थिए । जुन पूरा भएपश्चात् टियूमै एनपीएल खेलाइएको थियो ।











