काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसूचकमा सोमबार पनि दोहोरो अंकको गिरावट निरन्तर रह्यो । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार थप २६.०५ अंकले घट्दै २६७२.३९ विन्दुमा बन्द भएको छ ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा केही सम्हालिए पनि समग्र बजार नकारात्मक नै रह्यो । सोमबार २ सय १२ कम्पनीको सेयर मूल्य घट्दा ४६ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत परिसूचकमध्ये व्यापार समूह बाहेक सबै सूचक घटेका छन् । बैंकिङ, विकास बैंक, वित्त, होटल, जलविद्युत्, बीमा, उत्पादनमूलक र लघुवित्त समूहमा उल्लेख्य गिरावट देखिएको छ ।
सोमबार नेप्सेमा ३२४ कम्पनीको १ लाख २ हजारभन्दा बढी कारोबारबाट २ करोड ६७ लाख ६६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम १० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । यो कारोबार आइतबारको तुलनामा कम हो, आइतबार ११ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो ।
आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजारमा अपेक्षाअनुसारको उत्साह नदेखिँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिन्छ ।











