काठमाडौं । सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भवन बनाउन तीन वर्षअघि टेण्डर गरेको भएपनि अहिलेसम्म भवन बनाउने काम शुरु भएको छैन । राष्ट्रिय योजना आयोगमा फाइल थन्किएका कारण अहिलेसम्म अलपत्र परेको हो ।

२०७९ साल पुस १४ गते ३०० शय्याको नयाँ भवन निर्माणका लागि औपचारिक रूपमा टेन्डर गरेको भएपनि राष्ट्रिय योजना आयोगले सहमति नदिदा अहिलेसम्म भवन बनाउने काम रोकिएको छ ।
अहिले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय महत्वको आयोजनालाई राष्ट्रिय योजना आयोगले समयमा समयमा सहमति दिन नसक्दा रोकिएको अस्पताल स्रोतले जनाएको छ ।
देशको एक मात्र सरुवा रोग अस्पताल जीर्ण, साँघुरो भवनबाट सेवा दिइरहँदा पनि सरकारले भवन बनाउने काममा प्राथमितका दिएको छैन । शहरी विकास मन्त्रालयले सो भवन बनाउनलागि सहमति दिइसकेको थियो ।
तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले टेकु परिसरमै ३०० शय्याको सरुवा रोग अस्पताल निर्माण गर्न निर्देशन दिँदै स्थलगत अध्ययनपछि भवन बनाउन खोजिएको थियो । त्यतिबेला सरकारले अस्पताल सार्ने प्रयास गरेको भएपनि जग्गा व्रयाप्त रहेको र नयाँ भवन बनाउ सकिने आधार देखाएर अस्पताल निर्माणमा स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो ।
अस्पतालकै नाममा ७२ रोपनी जग्गा हुँदाहुँदै हाल करिब १६ दशमलब ५ रोपनी मात्र प्रयोगमा छ । बाँकी जग्गामा आधुनिक भवन निर्माण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ ।
भवनको अतिरिक्त अस्पतालमा जनशक्तिको हिसाबले नेपाल सरकारको १६८ जना (जसमध्ये ६० रिक्त) र अस्पताल विकास समिति अन्तर्गत २६ जनाको छन । विशेषज्ञ चिकित्सक र नर्सिङ तथा पारामेडिक्स कर्मचारीहरुले दरबन्दी यस अस्पतालमा राखी अन्यत्र काजमा रहेको तथा केही चिकित्सकहरु अध्ययन बिदामा रहेको अवस्था छ भने हाल जम्मा २सय भन्दा बढी कर्मचारी रहेको अवस्थामा पुरानो र जीर्ण भवनमा सेवा दिइरहेकाले पनि नयाँ भवनको आवश्यकता रहेको अस्पतालले जनाएको छ ।
यसअघि २०७७/७८ मा ३०० शैय्याको केन्द्रीय सरुवा रोग अस्पतालको लागि एउटा भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढेको भएपनि टेण्डर रद्ध भएको थियो । पछिल्लो पटक २०७९ साल पुस १४ गते गरेको टेण्डर पनि अलपत्र परेको छ ।











