
काठमाडौं । पाकिस्तानले टी–२० विश्वकपमा भारतविरुद्धको निर्धारित खेल खेल्ने निर्णय गरेको छ ।
भारत विरुद्धको खेल बहिष्कार गर्ने निर्णय गरेको पाकिस्तानी सरकारले सोमबार राति औपचारिक रूपमा निर्धारित खेल खेल्न राष्ट्रिय टोलीलाई निर्देशन दिएको हो ।
यससँगै टी–२० विश्वकपको सबैभन्दा धेरै प्रतीक्षा गरिएको भारत–पाकिस्तान भिडन्त फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने भएको छ ।
पाकिस्तान सरकारको विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्ड बिच भएको बहुपक्षीय छलफल सकारात्मक भएको उल्लेख गरिएको छ ।
यसअघि पाकिस्तानले बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइएपछि भारतविरुद्ध खेल बहिष्कार गर्ने संकेत दिएको थियो । तर आईसीसीले बंगलादेशमाथि कुनै कारबाही नगर्ने निर्णय गरेपछि स्थिति सहज बनेको हो ।
सबै सदस्य राष्ट्रहरूले प्रतियोगितामा गरेको प्रतिबद्धता पालना गर्ने र टी–२० विश्वकप सफल बनाउन एकताबद्ध रूपमा अघि बढ्ने सहमति भएको समाचार क्रिकइन्फोले प्रकाशित गरेको छ ।











