काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्दै गएको छ।
पछिल्ला केही समयदेखि खानेतेल, चामललगायत अत्यावश्यक वस्तुमा मूल्यवृद्धि देखिएको छ भने एलपीजी ग्यासको अभाव अझै पूर्ण रूपमा हट्न सकेको छैन।

खानेतेलमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म मूल्य बढेको छ। चामलको भाउ पनि उकालो लागेको छ, जसले उपभोक्ताको भान्सासम्मै असर पार्ने देखिएको छ। बजारमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू स्वयं स्वीकार्छन्।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार केही दिनयता दाल, चामल र तेलको भाउ बढेर आएको छ। उनका अनुसार उत्पादक तथा आयातकर्ताले एमआरपी (अधिकतम खुद्रा मूल्य) नै बढाएर पठाएकाले खुद्रा व्यापारीहरूले पनि सोही अनुसार मूल्य समायोजन गर्नुपरेको छ।
महासचिव तुलाधर भन्छन्- ‘तेल र चामलमा मूल्यवृद्धि भएको छ। एक–डेढ महिनाअघि २४५ रुपैयाँमा बिक्री हुने सामान अहिले ३०० रुपैयाँसम्ममा बेच्नुपर्ने अवस्था आएको छ। प्रायः सबै सामानमा एमआरपी राखेर आउने गर्छ। एमआरपी निर्धारण गर्ने जिम्मेवारी उत्पादक वा आयातकर्ताको हो। एमआरपी उचित छ वा छैन भन्ने अनुगमन सम्बन्धित निकायले हेर्नुपर्छ। खुद्रा व्यापारीले एमआरपीभन्दा बढीमा बिक्री गर्न मिल्दैन र त्यस्तो गरिएको पनि छैन।’
तुलाधरका अनुसार मूल्यवृद्धिको कारणबारे बुझ्दा उत्पादक तथा आयातकर्ताले डलरको भाउ बढेको, कच्चा पदार्थ महँगिएको जस्ता कारण देखाउने गरेका छन्। आपूर्ति व्यवस्थामा देखिएको असहजताले पनि बजार भाउ प्रभावित हुने गरेको उनले बताए। मूल्यवृद्धि किन र कसरी भइरहेको छ भन्ने विषयमा वाणिज्य विभागले थप चासो दिनुपर्ने उनको भनाइ छ।
यता, बजारमा मूल्य बढिरहँदा सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने आफ्ना वस्तुमा मूल्य नबढाएको जनाएको छ। सुपथ मूल्यमा नुन, ग्यास तथा खाद्यवस्तु उपलब्ध गराउने जिम्मेवारी पाएको साल्ट ट्रेडिङले हाल बिक्री भइरहेका वस्तु पुरानै मूल्यमा उपलब्ध रहेको स्पष्ट पारेको छ।
साल्ट ट्रेडिङका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले नुन, दाल र चामलमा हाल कुनै मूल्यवृद्धि नगरिएको जानकारी दिए। उनका अनुसार हाल स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन मौज्दात छ, जसले छ महिनाभन्दा बढीको माग धान्नेछ।
काठमाडौं कार्यालयअन्तर्गत चिनी ६ हजार ४४३ क्विन्टल स्टकमा रहेको उनले बताए। अन्य कार्यालयमा पनि चिनी मौज्दात रहेको भन्दै उनले भने, ‘हाल स्टकमा रहेका वस्तुमा मूल्यवृद्धि गरिएको छैन, पुरानै मूल्यमा बिक्री भइरहेको छ।’
हाल खरिद प्रक्रियामा रहेका तेल तथा चामल भने बढेको मूल्यमा आउन सक्ने सम्भावना रहेको उनले बताए। कच्चा पदार्थको मूल्यवृद्धि प्रमुख कारण रहेको उनको भनाइ छ।
एलपीजी ग्यासबारे उनले भने- ‘साल्ट ट्रेडिङमार्फत ग्यासको बिक्री–वितरण नियमित रूपमा भइरहेको छ। हाल कुनै अभाव छैन। कोटेश्वर डिपोमा करिब १८ सय सिलिन्डर स्टकमा छन् र वितरण भइरहेको छ। पाँच वटा ग्यास बुलेट (करिब ९० टन) नेपाल आइरहेका छन्। अन्य बुलेटहरू भारतबाट ग्यास लिन गइरहेका छन्।’
वाणिज्य विभागको अनुगमन बढ्यो
बजारमा मूल्यवृद्धि तथा ग्यास अभावबारे गुनासा बढेपछि सरकारले अनुगमन तीव्र पारेको जनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरी तिवारीका अनुसार खानेतेल, चामल र ग्यासबारे आएका गुनासापछि सघन अनुगमन सुरु गरिएको छ।
निर्देशक तिवारी भन्छन्- ‘खानेतेल र चामलको मूल्यवृद्धिबारे गुनासा आएपछि सघन अनुगमन गरिएको छ। चामलमा अपेक्षित रूपमा ठूलो मूल्यवृद्धि देखिएको छैन र बजारमा उपलब्धता सामान्य छ। ग्यास अभावबारे धेरै गुनासा आएकाले दैनिक चार वटा अनुगमन टोली परिचालन गरिएको छ।’
उनका अनुसार मागको तुलनामा ग्यास आपूर्ति केही कमी भएको पाइएको छ। जाडोयाममा ग्यासको माग करिब १५ प्रतिशतले बढ्ने गरेको विभागको भनाइ छ।
तिवारीले थपे- ‘कालोबजारी गर्ने र आपूर्ति श्रृंखलामा असर पार्नेहरूमाथि अनुगमन जारी छ। पछिल्ला दिनमा करिब ९० उद्योग तथा फर्ममा अनुगमन गरिएको छ। समस्या छिट्टै समाधान हुने अपेक्षा गरेका छौँ।’











