Logo
Logo
टी–२० विश्वकप

नेपालको लज्जासपद हार, मोस्का दाजुभाइको विष्फोटक ब्याटिङमा इटलीको ऐतिहासिक जित


1k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।

एन्थोनी मोस्का र जस्टिन मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गर्‍यो । टी–२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको हो ।

समूह ‘सी’ मा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहीन नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ । स्कटल्याण्डसँग पहिलो खेलमा पराजित भएको इटलीले भने विश्वकपमा आफ्नो पहिलो जित हात पार्‍यो । यस संस्करणमा डेब्यु गरेको इटलीले दोस्रो खेलमै पहिलो जित दर्ता गरेको हो ।

इंग्ल्याण्डविरुद्ध ठूलो लक्ष्य पछ्याउँदा नेपालले देखाएको ब्याटिङ प्रदर्शनको विश्वभर प्रशंसा भएको थियो । तर इटलीविरुद्ध नेपाली ब्याटिङ फितलो रहँदा टोली १२३ रनमै अलआउट भयो ।

लक्ष्य पछ्याउने क्रममा मोस्का दाजुभाइ (एन्थोनी र जस्टिन) ले इटलीलाई आक्रामक सुरुवात दिलाए । उनीहरूले ६ ओभरको पावरप्लेमा ६८ रन जोड्दै जितको बलियो आधार तयार पारे ।

दुवैले ११औं ओभरमा अर्धशतक पूरा गरे । सन्दीप लामिछानेले बलिङ गरेको उक्त ओभरको चौथो बलमा जस्टिनले सिंगल लिएर अर्धशतक पूरा गरे भने अर्को बलमा एन्थोनीले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक बनाए ।

यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमा समेटियो । इटलीका स्पिनरहरूको उत्कृष्ट बलिङसामु नेपाली ब्याटरहरू संघर्षरत देखिए र टोली पूरा ओभर खेल्नसमेत सकेन ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । कप्तान रोहित पौडेलले २३ तथा आसिफ शेखले २० रन जोडे । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १७ रन थपे ।

ओपनर कुशल भुर्तेल र इंग्ल्याण्डविरुद्ध आक्रामक ब्याटिङ गरेका लोकेश बम इटलीविरुद्ध चल्न सकेनन् । दुवै जना सिंगल डिजिट स्कोरमा आउट भए । नेपालको स्कोर ८ रन हुँदा कुशल भुर्तेल ५ रनमा पहिलो विकेटका रूपमा आउट भए ।

पहिलो विकेट पतनपछि रोहित पौडेल र आसिफ शेखले ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर टोलीको स्कोर ४९ रन हुँदा दुवै ब्याटर पेभिलियन फर्किए । रोहितले १४ बलमा २ छक्का सहित २३ रन बनाए भने आसिफले २० बलमा २० रन जोड्दै २ चौका प्रहार गरे । आसिफलाई विकेटकिपर जियान पिएरो मिडले चलाखीपूर्ण ढंगले स्टम्प गरे ।

त्यसपछि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाए । दीपेन्द्र १८ बलमा १७ रन बनाएर आउट भए ।

आरिफ शेख नेपालको स्कोर १०० पुगेपछि छैटौं विकेटका रूपमा आउट भए । त्यसपछि १७औं ओभरमा नेपालले दुई विकेट गुमायो । गुल्सन झा ३ रनमा आउट भए भने नन्दन यादव रनआउट भए ।

अन्त्यतिर करण केसी र सन्दीप लामिछानेले २१ रनको साझेदारी गरे । करणले ११ बलमा अविजित १८ रन बनाए ।

नेपालको इनिङ्स दबाबमा राख्न इटलीका स्पिनरहरू हावी भए । इटलीका स्पिनरहरूले कुल ६ विकेट लिए । लेगस्पिनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । अफ–स्पिनर बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र दिँदै २ विकेट लिए ।

गत महिना अष्ट्रेलियामा भएको बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका मानेन्टी त्यसलगत्तै इटली टोलीमा समावेश भएका थिए । आज नेपालविरुद्धको प्रदर्शन उनको उत्कृष्ट बलिङ प्रदर्शन रह्यो ।

अर्का स्पिनर जेजे स्मट्सले १ विकेट लिए । पेस बलर अली हसन र जसप्रित अलीले १–१ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए ।

प्रतिक्रिया दिनुहोस्