Logo
Logo

ग्ल्यामरको दुनियाँमा व्यावसायिक उडान


693
Shares

आजभोलि ब्युटी इभेन्टहरूको आकर्षण बढ्दै गएको छ । यस्ता इभेन्टहरूमा युवाहरूको बाक्लो उपस्थिति देखिन्छ । इभेन्टहरूमा नाम, दाम र चार्म देखिने गरेको छ । यही क्षेत्रमा सक्रिय इभेन्ट मेनेजर हुन्, अमिशा ओली । तीन वर्षअघि ‘दि इभेन्ट’ नामक संस्था सञ्चालनमा ल्याएर उनी यो क्षेत्रमा अगाडि बढेकी हुन् । उनले वर्षमा चारवटा ठुला इभेन्ट गर्दै आएकी छिन् । २३ वर्षीया इभेन्ट मेनेजर अमिशा ओलीसँग रेजिना पाण्डेको जम्काभेट ।

यो क्षेत्रमा कसरी लाग्नुभयो ?
सन् २०१८ मा आर्टिस नेपालसँग फोटोसुट गरेँ । त्यसपछि ब्युटी पेजेन्ट ‘मिस्टर÷मिस इन्टरकलेज २०१९’ मा सहभागी भएँ, जहाँ मैले दुईवटा सब–टाइटल जितेँ । त्यसपछि रनवे शोहरू गर्न थालेँ । यिनै अनुभवहरूले गर्दा आफ्नै इभेन्ट गर्ने रहर जाग्यो । अन्ततः सन् २०२३ मा ‘दि इभेन्ट’ नामको कम्पनी सञ्चालन गरेँ । अहिले ‘दि इभेन्ट’बाट वार्षिक चारवटा ठुला इभेन्टहरू हुन्छन् । त्यसबाट अन्य इभेन्टहरू पनि भइरहन्छन् ।

तपाईंले गर्ने इभेन्टहरू के–के हुन् ?
द फेस अफ मोडल, द काठमाडौं ग्लाम गर्ल, ग्लाम भर्ग र फेस अफ द नेसन भइरहेका छन् । साथै, राइजिङ किड्स एसइ भर्ग गर्ने तयारीमा छौँ ।

तपाईंको इभेन्टले बढी कुन वर्गलाई फोकस गर्छ ?
धेरैजसो टिनएजरहरू सहभागी हुन्छन् । तर पछिल्लो समय १९ वर्षदेखि २५ वर्षसम्मका युवायुवतीहरूको सहभागिता बढेको छ । मेरो इभेन्टमा महिला र पुरुष दुवै सहभागी हुन पाउँछन् ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
आगामी फागुनमा हाम्रो कार्यक्रम ‘ग्लाम भर्ग’ को फाइनल हुँदैछ । त्यसैको तयारीमा व्यस्त छु । ट्रेनिङ र कोरियोग्राफी भइरहेको छ । सहभागीहरूको विभिन्न विधामा मूल्यांकन पनि भइरहेको छ ।

यसमा कतिजना सहभागी छन् र छनोट कसरी गर्नुहुन्छ ?
यसमा २० जना सहभागी छन् । कुनै पनि प्रकारको छेडछाड हुँदैन । जजहरूले सहभागीहरूको प्रतिभा र ट्यालेन्ट हेरेर निष्पक्ष मूल्यांकन गर्नुहुन्छ ।

तर, यस्ता कार्यक्रममा आफ्ना मान्छे मात्र जिताइन्छ भन्ने आरोप लाग्छ नि ?
अरूको बारेमा त म भन्न सक्दिनँ, तर मेरो इभेन्टमा यस्तो हुँदैन । सहभागीहरू फर्म भरेर आउनुहुन्छ । ट्रेनिङपछि मात्र चिनजान हुन्छ । मेरा लागि सबै सहभागी समान हुन्छन् । कसैलाई प्राथमिकता दिने वा पहिले नै विजेता बनाउने सोच कहिल्यै आउँदैन ।

आजभोलि इभेन्ट गर्नेको भिड धेरै देखिन्छ, सजिलो भएर हो ?
सजिलो भएर होइन, यसको माग बढेकाले हो । बाहिरबाट सजिलो देखिए पनि यो काम निकै गाह्रो छ । तर, समयले मागेको प्लेटफर्म भएकाले धेरै मानिस आकर्षित भएका छन् ।

ब्युटी पेजेन्टमा भाग लिएपछि इभेन्ट नै गर्ने सोच किन आयो ?
पेजेन्टहरूमा ठुलो सहभागिता देख्थेँ । त्यहाँबाट धेरै कुरा सिकेँ । यो समयको माग हो भन्ने महसुस भएपछि लगानी गर्ने निर्णय गरेँ । सुरुमा डर लाग्यो, तर अहिले काम राम्रो भइरहेको छ ।

यस्ता कार्यक्रम थोरैमा कति खर्चमा सुरु गर्न सकिन्छ ?
कम्तीमा तीन लाख रुपैयाँदेखि सुरु गर्न सकिन्छ । खर्च कार्यक्रमको स्तर, प्रक्रिया र ब्रान्डिङमा भर पर्छ ।

यस्ता कार्यक्रममा प्रतिस्पर्धीबाट धेरै पैसा उठाइन्छ भन्ने आरोप पनि छ नि ?
इभेन्टको स्तरअनुसार शुल्क फरक पर्छ । हामी टिनएजरलाई फोकस गर्ने भएकाले धेरै शुल्क लिँदैनौँ । सहभागीहरूले आफ्ना सपना पूरा गर्न सकून् भन्ने चाहना हो ।

तपाईंको इभेन्टको उद्देश्य के हो ?
सबैलाई स्मार्ट र आत्मविश्वासी बनाउने मुख्य उद्देश्य हो ।

कतिपयले दुई–चारवटा इभेन्ट गरेर पैसा कमाएर छोड्छन् भन्ने पनि सुनिन्छ नि ?
मेरो लागि यो कर्म हो । यो क्षेत्रमा वर्षौँदेखि निरन्तर काम गरेर सफल भएका धेरै उदाहरण छन् । म पनि यही क्षेत्रमा निरन्तर लागिरहने सोचमा छु ।

प्रतिक्रिया दिनुहोस्