काठमाडौं । टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेलअघि शनिबार कोलम्बोमा आयोजित पत्रकार सम्मेलनमा ह्यान्डसेक विवाद चर्किएको छ।पाकिस्तानका कप्तान सलमान अली आगाले ह्यान्डसेक नगरेको प्रसङ्गमा प्रतिक्रिया दिँदै यसको जवाफ हामी खेल मैदानमै दिने बताएका छन् ।

त्यसपछि भारतीय कप्तान सूर्यकुमार यादवसँग पनि यही विषयमा प्रश्न सोधिएको थियो । उनले छोटो जवाफ दिए, ‘केही घण्टा पर्खनुहोस्, त्यसपछि थाहा पाउनुहुन्छ।’
गत वर्ष सम्पन्न एशिया कप २०२५ मा भारतीय कप्तान सूर्यकुमार यादवसहित सम्पूर्ण भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाएको घटना चर्चा पाएको थियो ।
सूर्यकुमारले त्यतिबेला पाकिस्तानसँग हात नमिलाउने निर्णय लिएको बताएका थिए । यो निर्णय पहलगाम आतंकी हमलामा ज्यान गुमाएका भारतीय नागरिकहरूको सम्मानमा गरिएको भनिएको थियो । भारत र पाकिस्तानबीचको उच्च दबाबयुक्त खेल आज कोलम्बोमा हुँदै छ ।











