काठमाडौं । भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समूह ए को आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको १७६ रनको लक्ष्य पछाएको पाकिस्तान १८ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो । पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए भने शाहिन शाह अफ्रिदीले अविजित २३ रन बनाएका थिए । त्यस्तै शडाब खानले १४ रन बनाए भने फाहिम अशरफले १० रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर हार्दिक पाण्डेय, जसप्रित बुमराह, अक्सर पटेल र वरुण चक्रवर्तीले २-२ विकेट लिएका थिए । त्यस्तै कुलदीप यादव र तिलक बर्माले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले सर्वाधिक ७७ रन बनाए भने कप्तान सुर्य कुमार यादवले ३२, तिलक बर्माले २५, शिभम दुवेले २७ र रिंकु सिंहले अविजित ११ रन बनाए । त्यस्तै पाकिस्तानका बलर सैम आयुबले ३ विकेट लिए भने सलमान आघा, शाहिन शाह अफ्रिदी र उस्मान तारिकले एक एक विकेट लिए ।
यो जितपछि भारतले लगातार तीन खेलमा जित हासिल गरेर ६ अङ्क हासिल गर्दै सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पाकिस्तानको भने ३ खेलमा ४ अङ्क रहेको छ र समूह ए मा तेस्रो स्थानमा झरेको छ ।
अब समूह चरणको अन्तिम खेलमा पाकिस्तानले बुधवार नामिबियाको सामना गर्ने छ भने भारतले बुधवार नै नेदरल्याण्डसको सामना गर्ने छ ।












