काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा ४० वटा स्रोत नखुलेको सम्पत्ति आर्जनको मुद्दा तामेलीमा राखिएको स्रोतको दावी छ । ‘अख्तियारले थप प्रमाण प्राप्त भएमा थप अनुसन्धान अघि बढाउने गरी ४० जनाको अकुत सम्पत्ति आर्जनको उजुरी तामेलीमा राख्ने निर्णय गरिसकेको छ’, स्रोतले भन्यो ।

रेग्मीसँगै अख्तियारले बागमती प्रदेशको स्वास्थ्य सचिवबाट अवकाश भएका बद्रीबहादुर खड्कादेखि स्वास्थ्य मन्त्रालयमै कार्यरत हुँदा पदीय मर्यादाविपरीत गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी परेका उपसचिव लक्ष्मीप्रसाद जोशीको फाइल तामेलीमा राखेको छ । हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यरत सहसचिव बलराम रिजालको गैरकानुनी सम्पत्ति आर्जनको फाइल पनि अख्तियारले तामेलीमा राखेको छ ।
प्राविधिक सहसचिव श्यामकिशोर सिंहले पनि अकुत सम्पत्ति आर्जनको झमेलाबाट तत्काललाई मुक्ति पाएका छन् ।इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक लालबाबुप्रसाद यादवको फाइल तामेलीमा राखिएको हो ।
अख्तियारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन कामु नयाब महाप्रबन्धक विजयकुमार ठाकुर र नेपाल टेलिकमका तत्कालीन प्रमुख व्यापार अधिकृत गोकर्णप्रसाद सिटौलाको अकृत सम्पत्ति आर्जनको अनुसन्धान फाइल तामेलीमा राखेको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका मेयर अब्दुल कलामको पनि गैरकानुनी सम्पत्ति आर्जनको फाइल तामेलीमा पुगेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर प्याकुरेलदेखि लुम्बिनी सांस्कृतिक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेसम्मको अकुत सम्पत्ति आर्जनको फाइल अख्तियारले तामेलीमा राखेको छ ।
काठमाडौं महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत श्यामप्रसाद पाण्डे र काठमाडौं महानगरपालिकाका कै प्रशासकीय अधिकृत सुदर्शन भट्टराईको अकुत सम्पत्ति आर्जनको फाइल तामेलीमा राखिएको स्रोतको दावी छ ।











