Logo
Logo

सिआइबीमा नक्कली सर्टिफिकेटको उजुरी


819
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा परेको उजुरी लामो समयदेखि थन्किएको छ । पाँच वर्षअघि परेका चारजना डाक्टरको शैक्षिक योग्यताको उजुरीलाई सिआइबीले बेवास्ता गरेको हो ।

चिकित्सकीय पेशामा शैक्षिक प्रमाणपत्र नक्कली भएको विषय आफैँमा गम्भीर भए पनि सिआइबीको मौन रहनुलाई आश्चर्यजनक ठानिएको छ ।

प्रा. डा. विष्णुदत्त पौडेल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएदेखि परेका उजुरीको छानबिन अहिलेसम्म अघि बढेको छैन । भक्तपुर क्यान्सर अस्पतालमा उज्ज्वल चालिसे कार्यकारी निर्देशक भएर गएपछि छानबिनको काम अझै रोकिएको छ । अस्पतालकै एक कर्मचारीका अनुसार, सिआइबीमा परेको उजुरी माथिल्लो तहबाट रोक्न दबाब दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. चालिसेको बयान लिइसकेका भएपनि भ्रष्टाचारको फाइल अघि बढ्न नसक्नु र त्यहाँ कार्यरत चिकित्सकहरू अल्कोनोजिष्ट नपढे पनि तालिम लिएको भरमा बिरामीको उपचार गरिरहेको उजुरी सिआइबीले छानबिन नगर्नुमा संयोग मात्र नभएको कर्मचारीहरूको दाबी छ ।

चिकित्सकहरू डा. प्रभु साह, उज्ज्वल चालिसे लगायत चार जनाको उजुरी रहेको छ । तर उनीहरूको शैक्षिक योग्यता छानबिन गर्नुपर्ने भएपछि विभिन्न शक्ति केन्द्र लगाएर रोकाइएको चर्चा अस्पतालमा हुन थालेको छ । ‘पाँच वर्ष भयो उजुरी गएको तर सिआइबीले एक पटक पनि अनुसन्धान गरेको सुनिएको छैन’, एक कर्मचारीले भने ।

२०७७ सालमा सिआइबीले नक्कली डाक्टर पक्राउको अप्रेशन नै चलाएको थियो । त्यतिबेला नै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरुको पनि शैक्षिक योग्यतामाथि प्रश्न उठाउदै उजुरी परेको थियो । चिकित्सा क्षेत्रमा विभिन्न विकृति देखापर्ने घटना नयाँ होइनन् । अर्काको नामको दर्ता नम्बर प्रयोग गरेर डाक्टरी पेसा गर्नेदेखि नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरी डाक्टर बनेका घटना पटक–पटक सार्वजनिक गर्दै सिआइबीमाथि भरोसा गरेको कर्मचारीहरु निराश बनेका छन् ।

पछिल्लो पटक सिआइबीमा एआइजी मनोज केसी गएपछि धेरैले उनको कार्यशैलीमाथि मात्र होइन अनुसन्धानमा समेत भरोसा गरेको भएपनि उनी जम्न सकेको देखिएनन । यसअघि चिकित्सा क्षेत्रमा भएको विकृतिविरुद्ध केही समयअघि अपरेसन ‘क्वाक’ सञ्चालन गरेर ठूलो संख्यामा डाक्टरलाई पक्राउ गरेको थियो । त्यसबेला ठूलो संख्यामा डाक्टर पक्राउ परेपनि उनीहरु विरुद्धको कारबाही भने प्रभावकारी ढंगमा अघि बढ्न सकेको थिएन । केही डाक्टरको लाइसेन्स खारेज भएको थियो भने धेरैजसो चाहिँ अभियोग प्रमाणित नभएपछि पुनः सेवामा फर्किएका थिए ।

यस्तै प्रकृतिको घटना चिकित्सा नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाणसमेत फेला परेको थियो । नेपाली नागरिकलाई भारतीय बनाएर चिकित्सा शिक्षा अध्ययन गराउने र लाइसेन्स दिनेसम्मको यो काममा मेडिकल कलेजदेखि मेडिकल काउन्सिलसम्मको भूमिका शंकास्पद देखिएको थियो ।

अहिले भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कतिपय चिकित्सकहरुको भूमिका पनि शंकास्पद रहेको त्यहाँ कर्मचारीले दावी गरेका छन् । २०७७ सालमा नेपाली नागरिक भए पनि भारतीय बनेर नेपालमा अध्ययन गर्ने र फेरि नेपाली डाक्टर बनेर मेडिकल काउन्सिलमा दर्ता भई प्रमाणपत्र लिएर काम गर्ने १२ जना डाक्टर अहिले अनुसन्धानको दायरामा थिए । यो विषयमा पछिल्लो समय सिआइबीले चिकित्साक्षेत्रमा देखिएको विकृति रोक्न कुनै अनुसन्धान नगरेको भन्दै गुनासो बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्