काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गर्न लागेको आमसभामा एक लाखभन्दा बढी समर्थक सहभागी गराउने दाबी गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आठै जिल्लाबाट व्यापक सहभागिता रहने बताए । उनका अनुसार आमसभामा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा ले सम्बोधन गर्नेछन्।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, फागुन २१ को निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ।’
मधेस प्रदेशमा कांग्रेसका कुनै बागी उम्मेदवार नरहेको उल्लेख गर्दै यादवले पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको दाबी गरे। ‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ। पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,’ उनले स्पष्ट पारे।
जनकपुरधामस्थित तिरुहुतिया गाछी मा हुने आमसभामा कांग्रेसले प्रतीज्ञापत्र पनि सार्वजनिक गर्ने जनाएको छ। प्रतीज्ञापत्रमा मधेसको विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा रहने यादवले जानकारी दिए।
यसैबीच, गत माघ १६ गते जनकपुरमा आयोजित ३२ निर्वाचन क्षेत्रका उम्मेदवारहरूको भेलामा सहभागी नभएका कांग्रेस नेता विमलेन्द्र निधि पनि आमसभामा सहभागी हुने निधिको सचिवालयले जनाएको छ।












