Logo
Logo

निर्वाचन प्रहरी नै आन्दोलित


0
Shares

हुम्ला । हुम्लामा निर्वाचन प्रहरीहरूले सेवा–सुविधा सम्बन्धी असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर उनीहरूले तोकिएको सुविधा अपेक्षाभन्दा कम भएको दाबी गर्दै प्रदर्शन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्द का अनुसार निर्वाचन प्रहरीहरूले कार्यविधिमा उल्लेखित सेवा–सुविधाभन्दा कम भएको भन्दै विरोध जनाएका हुन्। उनले सेवा–सुविधाबारे गलत बुझाइका कारण समस्या उत्पन्न भएको बताए।

सूचना अधिकारी चन्दले गलत बुझाइकै कारण केही स्थानमा टायर बाल्ने र तोडफोडका घटना समेत भएको जानकारी दिए। ‘छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको छ,’ उनले भने।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको प्रशासनले जनाएको छ। उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था रहेको छ।

त्यसैगरी, मतदानको दिनको अघिपछि गरी ४ दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले जम्मा १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने व्यवस्था छ।

हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीहरूले अतिरिक्त सुविधा पाउने प्रावधानअनुसार हुम्लामा प्रतिप्रहरी करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रशासनले जनाएको छ। तुलनात्मक रूपमा पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ खर्च हुने गर्छ।

पहिले भनिएको भन्दा कम रकम पाउने हल्ला फैलिएपछि निर्वाचन प्रहरीहरू असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएको प्रशासनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्