Logo
Logo

टी २० विश्वकपः १२ वर्षपछि नेपालको जित, स्कटल्यान्ड ७ विकेटले पराजित


0
Shares

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ।

यसअघि नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि विश्वकपमा जित निकाल्न सकेको थिएन। स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

ऐरीको कीर्तिमानी अर्धशतक
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतक प्रहार गरे। उनले नटआउट ५० रन बनाए भने गुल्सन झाले अविजित २४ रन जोडे। यससँगै दीपेन्द्र नेपालका लागि विश्वकपमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी तथा लगातार दुई खेलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने। उनले यसअघि वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाएका थिए।

ओपनिङमा बलियो सुरुआत
लक्ष्य पछ्याउने क्रममा नेपालले सशक्त सुरुआत गर्‍यो। पहिलो विकेटका लागि ७४ रनको साझेदारी भयो, जुन नेपालको विश्वकप इतिहासमा पहिलो विकेटका लागि सर्वाधिक साझेदारी हो।

ओपनर कुशल भुर्तेल ३५ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाउँदै आउट भए। उनले एकै इनिङ्समा चार छक्का प्रहार गर्दै व्यक्तिगत कीर्तिमान पनि बनाए। अर्का ओपनर आसिफ शेखले २७ बलमा ३३ रन जोडे।

कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर पेभिलियन फर्किए। नेपालको सुरुवाती तीनै विकेट स्कटल्यान्डका स्पिनर माइकल लिस्कले लिए। उनले सुरुवाती तीन ओभरमा १० रन खर्चेर ३ विकेट लिए। तर आफ्नो अन्तिम स्पेलमा दीपेन्द्रले उनलाई दुई छक्का र एक चौका प्रहार गर्दै खेलको लय नेपालतर्फ मोडे।

दीपेन्द्रले १८औँ ओभरमा ब्राड ह्विलको अन्तिम दुई बलमा छक्का र चौका प्रहार गर्दै दबाब कम गरे। त्यसपछि अर्को ओभरको पहिलो बलमै गुल्सन झाले ब्राड करीलाई छक्का प्रहार गर्दै जित सुनिश्चित गरे।

स्कटल्यान्डको इनिङ्स
वानखेडे रंगशाला मा टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनायो।

स्कटल्यान्डका ओपनर माइकल जोन्सले ४५ बलमा ८ चौका र ३ छक्कासहित ७१ रन बनाए। उनले ३१ बलमै अर्धशतक पूरा गरेका थिए। जर्ज मुन्सेले २७ रन जोडे। पहिलो विकेटका लागि ८० रनको साझेदारी भएको थियो, जसलाई कप्तान रोहित पौडेलले तोडे।

ब्रान्डन म्याकमुलेनले २५ रन बनाए। उनलाई र जोन्सलाई १६औँ ओभरमा सोमपाल कामीले आउट गर्दै नेपाललाई खेलमा फर्काए। सोमपालले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले ४ ओभरमा ३४ रन दिँदै २ विकेट लिए।
अन्तिम पाँच ओभरमा नेपाली बलरहरूले ६ विकेट लिँदै मात्र ३९ रन खर्चिए, जसले स्कटल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोकेको थियो।

नेपालका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए। मुख्य स्पिनर सन्दीप लामिछाने भने विकेटविहीन रहे।

समूह ‘सी’ मा लगातार तीन खेल गुमाएर बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित निकाल्दै प्रतियोगिता समापन गरेको हो। स्कटल्यान्ड पनि यसअघि नै बाहिरिसकेकाले खेल प्रतिष्ठाको लडाइँका रूपमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्