Logo
Logo

उच्चमा मुद्दा नटुंगिदै हाइप्रोफाइल वन्यजन्तु तस्कर सर्वाेच्चमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ कात्तिक ।

गत असारमा पक्राउ परेका हाइप्रोफाइल वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङ थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वाेच्च अदालत पुगेका छन् । गिरोहका नाइके रहेका तामाङले दुई साताअघि सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । मंगलबार उनको सुनुवाई रहेकोमा उनका वकिलले स्थगित गराएका छन् ।

पुर्पक्षका लागि रसुवा कारागारमा रहेका उनले थुनामा राख्ने जिल्ला अदालत रसुवाको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका थिए । तर, पाटनबाट फैसला नहुँदै उनी सर्वाेच्च पुगेका हुन् । ‘उच्च अदालतमा उनकै वकिलले दुई पटक पेशी सारे’ अदालतका एक कर्मचारी भन्छन्,‘यही बेला सर्वाेच्च पुगेछन् अचम्म लागेको छ ।’

बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएकै दिन सर्वाेच्चले तीन दिनभित्र जवाफ दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी), जिल्ला कारागार रसुवा र जिल्ला अदालत रसुवासँग जवाफ मागेको थियो । न्यायाधीश प्रकाशसिंह राउतको इजलाशले यस्तो आदेश दिएको हो ।
आफु कुन्जोक लामा नभई कुन्जोक छिरिङ तामाङ भएको दाबी गरी उनी छुट्ने प्रयासमा छन् । तर, दुवै नाम गरेका व्यक्ति एकै भएको प्रहरी अनुसन्धान खुलेको थियो । २०६२ सालमा पत्ता लागेको उनको मोबाइल नम्बर समेत अहिले पनि उनीसँगैबाट बरामद भएको प्रहरी स्रोत बताउँछ ।

वन्यजन्तु तस्करी मुद्दामा १५ वर्षदेखि फरार रहेका तामाङलाई गत १० असारमा बौद्धबाट पक्राउ गरेको थियो । उनी भारतबाट नेपाल हुँदै बाघका अंग तिब्बत तस्करी गर्ने गिरोहका नाइकेमध्ये एक भएको र भारतमा समेत उनीविरुद्ध मुद्दा दायर भएको छ ।

प्रारम्भिक छानबिनमा उनको सम्पत्ति समेत अस्वभाविक देखिएपछि सम्पत्ति समेत छानबिन भइरहेको छ । पछिल्लो १० वर्षमा दुई अर्बको बैंकिङ कारोबार गरेका उनको बौद्धको सिमलटारमा १८ आनामा पाँच तले भव्य घर बनाएका छन् । उनको धेरै जसो बैंकिङ कारोबार तिब्बती समूहसँग देखिएको छ । गुहेश्वरी फाइनान्सबाट तीन वर्षअघि मात्र व्यापारका नाममा दुई करोड कर्जा लिएका छन् । उनको कर्णाली गार्मेन्ट पसल पनि छ ।

सिआईबीले गत वर्ष नै उनलाई पक्राउको तयारी गरेको थियो । प्रहरी नेतृत्वको आदेशपछि सिआईबीले पक्राउ गर्ने अनुमति पाएको थिएन । प्रहरी नेतृत्व फेरिएपछि उनी पक्राउ परेका हुन् । उनको उच्च प्रहरी अधिकारीहरुसँग समेत निकटता देखएिको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्