Logo
Logo

‘परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो’


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १८ कार्तिक । केही परोपकारी समूहले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी भत्र्सना गरेको छ । साझा पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै महानगरको निर्देशनप्रति आपति जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो । तर उल्टो नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो ।’
पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा सरकारको सो कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने जनाएको छ । ‘साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन् । शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘साझा पार्टीको उक्त कदम महिनौँदेखि निरन्तर रूपमा अतुलनीय शुभ कार्य गरिरहेका परोपकारी समूहप्रतिको नैतिक र सानो आर्थिक सहयोग मात्र हो। साझा पार्टी नेपालभित्र र बाहिर रहेका सबै नेपालीलाई खुलामञ्च लगायतका स्थानमा दैनिक सयौँ नेपाली दाजुभाई, दिदीबहिनीको पीडामा मल्हम लगाइरहेका समूहहरूलाई सहयोग गर्न हार्दिक अपिल पनि गर्दछ ।’ साथै, सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गर्न समेत पार्टीले आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर खुला स्थानमा खाना खुवाउँदा सरकारको बेइज्वत हुने भन्दै रोक्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्