काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा वेस्ट इण्डिजले जिम्बाब्वेमाथि शानदार जित हात पारेको छ । गएराती सम्पन्न खेलमा शिमरन हेटमायरको विस्फोटक ब्याटिङ र गुडाकेश मोतीको अगुवाइमा बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण वेस्ट इण्डिजले जिम्बाब्वेलाई १०७ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो । जवाफमा जिम्बाब्वे १७.४ ओभरमै १४७ रनमा अलआउट भयो । टी-२० अन्तर्राष्ट्रियमा रन अन्तरका हिसाबले यो वेस्टइन्डिजको दोस्रो ठूलो जित हो । यसअघि सन् २०२४ मा उसले युगान्डालाई १३४ रनले हराएको थियो ।
यो जितसँगै समूह १ को अङ्क तालिकामा ठूलो परिवर्तन आएको छ । वेस्टइन्डिज ५.३५० नेट रनरेटसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा दक्षिण अफ्रिका ९३.८००० छ भने भारत –३.८०० नेट रनरेटसहित तेस्रो स्थानमा झरेको छ । समूहबाट शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने छन् ।
२५५ रनको कठिन लक्ष्य पछ्याएको जिम्बाब्वेको सुरुआतदेखि नै दबाबमा देखियो । बायाँहाते स्पिनर गुडाकेश मोतीले २८ रन खर्चेर चार विकेट लिँदै करियरकै उत्कृष्ट प्रदर्शन गरे । अकील हुसैनले २८ रनमा तीन विकेट लिए भने मैथ्यु फोर्डले २७ रन खर्चेर दुई विकेट हात पारे । जिम्बाब्वेका लागि ब्राड इभान्सले २१ बलमा पाँच छक्का र दुई चौकासहित ४३ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । डियोन मायर्स (२८) र कप्तान सिकन्दर रजा (२७) बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। चार जना खेलाडी शून्यमै आउट भए ।
टस जितेर पहिले बलिङ रोजेको जिम्बाब्वेको निर्णय वेस्ट इण्डिजका ब्याटरले गलत साबित गरिदिए । शिमरन हेटमायरले ३४ बलमा सात छक्का र सात चौकासहित ८५ रनको शानदार इनिङ खेलेका थिए । उनले रोवम्यान पोवेल (५९) सँग तेस्रो विकेटका लागि ५२ बलमा १२२ रनको शतकीय साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।
शेर्फेन रदरफोर्डले १३ बलमा अविजित ३१ रन थपे। ब्रेन्डन किङ (९) छिट्टै आउट भए पनि त्यसपछि वेस्ट इण्डिजले आक्रामक शैली कायम राख्यो । टोलीले प्रतियोगिताको इतिहासमै दोस्रो ठूलो स्कोर खडा गर्दै जिम्बाब्वेमाथि एकपक्षीय जित दर्ता गरेको थियो । जिम्बाब्वेका रिचर्ड नगारवा र ब्लेसिङ मुजरबानीले दुई-दुई विकेट लिए पनि अन्य बलर महँगा साबित भए । कप्तान सिकन्दर रजाले तीन ओभरमा ५२ रन खर्चिए । वेस्ट इण्डिजको यो प्रभावशाली जितले सुपर आठको प्रतिस्पर्धा अझ रोचक बनेको छ।











