Logo
Logo

यस्तो छ, चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को हालखबर


630
Shares

आज फागुन १२ गते, २०८२ साल । अबको ठीक ९ दिनपछि फागुन २१ गते आइपुग्छ । लगभग सबै नेपालीलाई थाहा भैसक्यो कि यो दिन नेपालमा के हुँदैछ ?

आमचुनाव हुँदैछ । यो आमचुनाव आवधिक र सामान्य हैन । आवधिक भएको भए २०८४ मा हुने थियो, सामान्य भएको भए अन्तरिम सरकारले गराउने थिएन । एक किसिमले भन्ने हो भने यो मध्यावधि चुनाव हो । नेपालकै इतिहासमा यो यस्तो किसिमको दोस्रो चुनाव हो ।

यो चुनावमा खासै कसैको पक्षमा लहर देखिएको छैन, न त्यस्तो स्वस्स्फूर्त चुनावी उत्साह नै जनतामा छ । यद्यपि, गगनको नेतृत्वले कांग्रेसमा र बालेनको प्रवेशले रास्वपाको पक्षमा केही हावा चलेजस्तो देखिएको छ । तर, सामाजिक सञ्जाल हेर्यो भने उत्पातै भएजस्तो देखिन्छ । त्यो उत्पात यथार्थ हो वा हैन, त्यसको परीक्षण पनि फागुन २१ मै हुने छ ।

चुनावमा कांग्रेस, एमाले र रास्वपाबीच पहिलो ठूलो दल हुने होडबाजी छ । चुनावी माहौल हेर्दा पनि यी तीनमध्ये कुनै एक नै पहिलो ठूलो दल हुने देखिन्छ । यद्यपि, तीनै दल आफू नै पहिलो हुने दाबी गरिरहेका छन् । तर, रास्वपा र एमाले दुबैले आफूलाई पहिलो स्थानमा राख्दा पनि कांग्रेसलाई समान दोस्रो स्थानमै प्रक्षेपण गरिरहेका छन् । कांग्रेसले भने आफू ठूलो दल हुने प्रयत्न गरिरहेको भनेर यथार्थपरक धारणा नै बाहिर ल्याइरहेको छ ।

नेपालमा जेनजी आन्दोलन हुनुअघि बंगलादेशमा पनि लगभग यस्तै चरित्र र परिणामको आन्दोलन भएको थियो । फरक के थियो भने त्यहाँको प्रधानमन्त्री भारत भाग्नु परेको थियो भने चुनावमा पनि उनको दललाई भाग लिनबाट रोकिएको थियो ।

बंगलादेशमा भर्खरै चुनाव भयो तर परिणाम परिवर्तनका पक्षधरका लागि निशाराजनक निस्कयो । त्यहाँ परिवर्तनकामी युवाहरू किनारा लाग्दा सत्ताबाट बर्षौ लखेटिएको अर्को पुरानो दलको पक्षमा सत्ताको काँध फेरियो । यहाँ पनि २०७९ मा स्थापित र केही समययता सत्ताले खेदिरहेको एउटा पुरानै दल रास्वपा छ । जेनजी आन्दोलनको स्वामित्व नै लगभग पूरै लिन सफल रास्वपा यतिबेला आफूलाई नै नयाँ दल भनिरहेको छ । प्रस्तुत पृष्ठभूमिमा परिणामले बंगलादेशकै नियति दोहोर्याएर पुरानैको पक्षमा परिणाम दिने हो वा नयाँ दाबी गर्ने रास्वपाको पक्षमा सत्ताको पासा पल्टिने हो रु, यसै भन्न सकिने अवस्था छैन ।

यसपटकको चुनाव पनि कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउबा र उनका कोटरीका केही शीर्ष नेता बाहेक देशका ठूला भनिएका प्रायस् सबै नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । लगभग सबै राजनीतिक दलप्रतिको बढ्दो वितृष्णाले कुनै एक वा दुई दलप्रतिको आकर्षण छैन । जनमत अत्यन्तै ध्रुवीकरण भएको छ । यसले चुनावी प्रतिस्पर्धालाई ठाउँ हेरेर वहुपक्षीय बनाएको छ ।

यसपटकको चुनावको इपिसेन्टर एक हैन, दुई छन्, झापा ५ र सर्लाही ४ । यी दुई निर्वाचन क्षेत्रमा तीनजना सम्भावित प्रधानमन्त्रीका उम्मेद्वार छन् । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह, अनि सर्लाही ४ मा कांग्रेस सभापति गगन थापा । उनीहरू तिनैजना जित्नैपर्ने प्रचण्ड दवावमा छन् । दबाबको मूल कारण व्यक्तिगत प्रतिष्ठा त हो नै, अन्तरपार्टी चुनौति र पार्टी प्रतिष्ठा पनि उत्तिकै जोडिएका छन् ।

अहिलेको स्थिति हेर्दा बढीमा यी तीनमध्ये दुई जित्ने हुन् । झापा ५ मा बालेन र ओलीमध्ये एक त हार्छन् नै । जो हारे पनि व्यक्ति मात्र हार्ने हैनन्, सम्बन्धित पार्टीका प्रधानमन्त्रीका उम्मेद्वार पनि हार्ने हुन् । ओली र बालेन हार्नै नचाहने र नसक्ने पात्र मात्र हैनन्, प्रवृति नै हुन् । अहिलेसम्म यी दुबैलाई जित्छु भन्ने छ, त्यसैले चुनावको माहौल पनि ठीकै छ ।

तर, सत्य के हो भने एकै क्षेत्रमा उठेका यी दुबैले जित्दैनन् एकले मात्र जित्ने हुन् । यो नै सत्य हो । यो सत्य हार्छु भन्नेलाई जुन दिन थाहा हुन्छ, त्यसपछि झापा ५ बाटै चुनावको अशान्ति सञ्चार हुन पनि सक्छ । अझ, त्यसमा पनि ओली हार्ने स्थिति बन्यो र त्यसको अनुभूति उनलाई भयो भने उनले चुनाव हुन नदिन अनेक उपाय नगर्लान् भन्न सकिन्न ।

सुरूमा उनलाई चुनावमा जानै सकिन्न भन्ने लागेको थियो । बिस्तारै उनको पक्षमा परिस्थिति अनुकुल बन्दै गएपछि उनलाई जित्छु भन्ने लाग्यो । तर, जब बालेन नै उनीसँग प्रतिस्पर्धा ग।र्न जाने भएपछि उनी संशयमा परे । जब पहिलोपटक झापा पुगे, स्थिति पनि सोचेभन्दा फरक पाए । त्यसपछि उनले चुनावी रणनीति फेरे र मतदातामा घरदैलोमा पुगे। अहिले उनलाई जितिन्छ भन्ने लागेको हुनुपर्छ । तर, राजनीतिका वाचाल खेलाडी ओलीलाई राम्रैसँग थाहा छ कि यो माहौल कुनै पनि बेला बिग्रन सक्छ । त्यसैले उनी यतिबेला कतै नगएर दमकमै डेरा जमाएर बसेका छन् ।

यसको ठीक बिपरित ओलीको घरदैलोपछि रास्वपा उम्मेद्वार बालेनलाई आफू पछि परेको लागेको छ । त्यसैले उनी बिचैमा राष्ट्रिय दौडाहा छोडेर झापा ५ फर्किए । अहिले उनी पनि घरदैलोमै व्यस्त छन् । उनी ओलीको घरदैलो रणनीतिलाई काउन्टर दिदै आफ्नो पक्षमा माहौल बनाउन लागिपरेका छन् । उनलाई निर्वाचन अगाडिको बाँकि समय झापा ५ मा नबसी खैरियत छैन भन्ने लागेको हुनुपर्छ ।

झापा ५ को यसअघिको अंकगणित हेर्दा ओली बलियो छन् । एमालेको संगठन पनि मजबुत छ । तर, यसपटक अनौठो किसिमले झापा ५ को चुनाव ओली मेनिया र ओली फोबियामा बाँडिएको छ । यहाँ चुनाव ओलीमाथि मात्रै छ । जित्दा उनै जित्ने हुन्, हार्दा ओलदी हार्ने हुन् । अर्कोले जितेर ओली हार्ने हैनन् कि ओली हार्दा अर्काले जित्ने हुन् । त्यो अर्को मात्रै बालेनले जित्ने हुन् ।

ओली मेनिया जित्यो भने ओली जित्छन्, ओली फोबिया जित्यो भने ओली हार्छन् । ओली फोविया जित्न रास्वपा मात्रै पर्याप्त हुदैन, एमाले भित्रकै ओली विरोधी र अरू सबै पार्टीका मत पनि एकसाथ आउनुपर्छ । समानुपातिक मत आआफ्नो पार्टीमा खसाए पनि प्रत्यक्ष मत घण्टीमा खस्यो भने मात्र त्यो सम्भव छ । अन्यथा, साम, दाम, दण्ड, भेद सबैको ज्ञाता ओलीलाई रोक्न सम्भव छैन ।

चुनाव आउन नौ दिन अघिको आँकलन गर्दा पनि ओलीकै पल्ला भारी जस्तो देखिन्छ । तर, यदि रास्वपाले दाबी गरेजस्तै रास्वपाको पक्षमा हावा मात्र हैन, सुनामी नै आएको हो भने झापा ५ बाट ओली नबढारिने भन्ने हुँदेन । यसअघि २०६४ मा पनि माओवादीको लहरले ओलीलाई बढारेकै हो । यदि रास्वपाको पक्षमा दाबी गरेजस्तो सुनामी आएको हैन भने बालेनको हावा टाइट हुने कुरा लगभग निश्चित छ ।

यो निर्वाचनको अर्को इपिसेन्टर हो, सर्लाही ४ जहाँ कांग्रेस सभापति गगन थापा काठमाडौंबाट तराई झरेर उम्मेद्वार बनेका छन् । कांग्रेसको राम्रो पकड भए पनि यो क्षेत्र गगनका लागि धेरै काणले काठमाडौं ४ जति सुरक्षित हैन । यसअघि कांग्रेस र स्वतन्त्र भएर चुनाव जितेका अमरेश सिंह अहिले रास्वपा उम्मेद्वार बनेर गगनलाई नै चुनौति दिइरहेका छन् । संसदमा नांगैसम्म हुन तयार उनले यसपटक पनि बालेन प्रधानमन्त्री भएनन् भने आत्मदाह गर्छु भनेर सार्वजनिक रूपमै बोलेका छन् ।

मधेशमा रास्वपाको हावा आएको दाबी गरेर अमरेशले अन्टसन्ट बोले पनि आजका दिनसम्म यस क्षेत्रमा गगन सुरक्षित नै देखिन्छन् । त्यसका लागि गगनले पनि लगभग सर्लाही ४ मै डेरा जमाएर बसेका छन् र कुनै कसर बाँकि राखेका छैनन् । गगन कांग्रेस सभापति भएपछि रास्वपा गएका यस क्षेत्रका कांग्रेसी मात्रै हैन, अन्य पार्टीका नेता कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन् । यो क्रम देशभरि नै जारी छ । यसले गगनप्रतिको विश्वास र कांग्रेसप्रतिको आशा बढ्दै गएको देखिन्छ ।

तर, रास्वपाको पक्षमा देशव्यापी सुनामी नै आएको हो भने त्यसबाट गगन सर्लाही ४ मा जोगिने भन्ने हुँदैन । गगनको विपक्षमा केहीले काम गर्यो भने त्यो भनेको रूख हो । जे र जति नै भए पनि गगनका लागि रूखमै मतदान गर्नुपर्ने हुन्छ र वर्षौदेखि प्रयोग हुँदै आएको यो निर्वाचन चिन्हप्रति अझै पनि जनताको वितृष्णा कायमै छ । यो चुनावचिन्हबाट चुनाव जित्नेले देशलाई सपारेनन्, बरू उल्टै बिगारे भन्नेहरूको कमी छैन ।

अब प्रश्न उठ्छ, यी दुबै इपिसेन्टरमा पुराना गगन र ओलीले चुनाव जितेर नयाँ भनिएको रास्वपाका बालेन र पुरानै नयाँ भएर आएका अमरेशले चुनाव हारे भने के हुन्छ रु यस्तो परिणामले खासै फरक नपार्ला तर त्यसो नभएर एलटो पर्यो र ओली र गगनले चुनाव हारे भने के हुन्छ रु यस प्रश्नको उत्तर त्यति सहज हुँदैन । भन्नलाई त जेजनी आन्दोलनको बेला सत्तारूढ रहेका दुबै दलले सजाय पाए भन्न सकिएला र ओलीको हकमा त्यो ठीकै पनि होला । तर, गगनको हकमा भने त्यसले न्याय गर्दैन ।

एमाले(कांग्रेस गठबन्धनको सरकार बनेको दोस्रो दिन मात्र मिडियाबाट थाहा पाएको बताउँने गगनले सुरूका दिनमा ओली सरकारलाई काँध थापे पनि केही दिजनपछि नै उनको मोहभंग भएको थियो । अझ, जेनजी आन्दोलनको बेला त उनी स्वयं जेनजीमाथि दमन गर्न नहुने र त्यस्तो स्थितिमा कांग्रेस सरकारबाट बाहिरिनुपर्ने औपचारिक अभिव्यक्ति नै दिएका थिए ।

इतिहासमा दर्ता भएका यी अभिव्यक्तिहरू कहिलै नमेटिने दशी प्रमाण हुन् । अझ, उनले जेनजी दबाउन मतियार भएको आफ्नै पार्टीको संस्थापन देउबा पक्षलाई विशेष महाधिवेशनको चुनौति स्विकारेर दण्डित गरे । यसरी ठूलो जोखिम उठाएर जेनजी आन्दोलन दबाउने कांग्रेस पक्षलाई भित्तामा पुर्याएका गगन सजायका भागिदार हैन, स्यावासीको भागिदार हुनुपर्ने हो ।

प्रस्तुत पृष्ठभूमीमा पनि अमरेश जितेर गगन हार्नुपर्ने कुनै कारण देखिदैन । त्यस्तो भयो तत्कालका लागि त गगन हार्लान् र त्यो हार उनले सजिलै स्विकार्लान् पनि तर उनको राजनीतिक भविष्य भने अन्यौलग्रस्त हुनसक्छ । त्यसले कांग्रेसमा रूपान्तरण र पुस्तान्तरणको मुद्दालाई ठूलो धक्का लाग्ने मात्र हैन, नेपालको राजनीतिले नै अरू बुमर्याङमा पर्न सक्छ ।

(झापा ५ र सर्लाही ४ बाट फर्केर काठमाडौं डेटलाइनमा प्रदीप भट्टराई)

प्रतिक्रिया दिनुहोस्