Logo
Logo

अमेरिकामा जघन्य हत्याको ह्याट्रिक : वुद्धभूमीबाट आएका नै किन खेलिरहेछन् रगतको होली ?


378
Shares

वासिङ्टन । अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै जोडिएको भर्जिनिया राज्यमा बसोबास गर्ने नेपाली डायस्पोरामा बर्षेनी जघन्य हत्याका घटना हुँदैआएका छन् । विगत तीन वर्षयता हुँदैआएका यस्ता रक्तमुछेल घटनाले जो कोहीको आङ मात्र सिरङ्ग पार्दैनन्, अमेरिकामा रहेको नेपाली समुदायलाई एक असुरक्षित समुदायका रूपमा बदनाम पनि गर्दैआएका छन् ।

देशकै राजधानी सहरसँगै जोडिएको स्थानमा एकै समुदायसँग जोडिएर भैरहने यस्ता घटना र तिनले सिर्जना गर्ने मिडिया हाइपले यहाँको नेपाली डायस्पोरालाई एउटा गम्भीर प्रश्नको कठघरामा उभ्याएको छ, शान्तिका अग्रदूत वुद्धको जन्मभूमीबाट आएका नेपालीहरू नै किन यसरी रगतको होली खेलिरहेका छन् ? यो जटील प्रश्नको उत्तर सहज छैन । तर, पनि ढिलोचाडो जवाफ दिनुपर्ने नै हुन्छ, त्यसबाट यहाँको नेपाली डायस्पोरा भाग्न सक्दैन ।

यही वर्षको पछिल्लो घटना

श्रीमती र छोरीको हत्या गरेर, ज्वाइँलाई बनाए घाइते, अन्तत: आफैं पनि मारिए

घटना फेब्रुअरी २२, २०२५ को हो । घटना फेयरफ्याक्स काउन्टीस्थत पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा विहान करिब ५:१५ बजे घटेको हो । स्थानीय प्रहरीका अनुसार नेपाली मूलका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती ५१ वर्षीया बिन्दा थापा र छोरी ३१ वर्षीया ममता थापा बस्नेतको विभत्स हत्या गरे ।

उनले यो घटना घटाइरहेको बेला ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेत घरबाहिर कारको हिउँ पन्छाउँदै थिए । घरमा गम्भीर घटना भैरहेको देखेका उनले ९११ मा प्रहरीलाई फोन गरेर घर भित्र पस्दा सासु र श्रीमतीको इहलिला समाप्त भैसकेको थियो । त्यसपछिको पालोमा थिए, उनै ज्वाइँ सन्तोष ।

श्रीमती र छोरीको ज्यान लिएर रगतले मातिसकेका छत्रबहादुर ज्वाँइमाथि छुरी प्रहार गर्न थाले । यतिबेलासम्ममा घटनास्थलमा प्रहरी टोली आइसकेको थियो । प्रहरीले छत्रबहादुरलाई पटक(पटक हतियार फालेर आत्मसमर्पण गर्न आदेश दियो तर उनले मानेनन् । त्यसपछि प्रहरीले गोली प्रहार गर्दा उनी पनि ठाउँको ठाउँ भए ।

अब घटनास्थलमा बाबु, आमा र छोरीको रक्तमुछेल लाश लडेको थियो । छत्रबहादुर ढलिसक्दा ज्वाइँ सन्तोष पनि गम्भीर घाइते भैसकेका थिए । अहिले उनको नाजुक अवस्थामा स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

घटनामा छत्रबहादुरले सन्तोष-ममता दम्पतिका एक वर्षीय छोरामाथि भने आक्रमण गर्न चाहेनन् वा भ्याएनन् । उनी भने सकुशल रहेको बताइएको छ ।

छत्रबहादुरको नेपालमा घर उदयपुर जिल्लाको बेलका नगरपालिका– ९ रामपुरमा हो । उनका एक छोरी र एक छोरा नेपालमै छन् भने जेठी छोरी ममताचाँहि ज्वाईँ सन्तोष र नातिसँगै अमेरिकामा थिइन् । तीन महिनाअघि ज्वाईँ(छोरीको निम्तो मान्न श्रीमतीसँगै हाँसीखुशी अमेरिका गएका उनै छत्रबहादुरले आफ्नै श्रीमती र छोरीको अकल्पनीय हत्या गरे । ज्वाइँको अवस्था पनि नाजुक छ भनिएको छ । त्यसबाट माथि उठ्न सकेनन् भने छत्रबहादुरको जेठी छोरी(ज्वाइँको एक टुहुरो नाति मात्र बाँकि छोड्नेछन् ।

नेपालमा रहेको उनको परिवारको एक सदस्यका अनुसार उनी डिप्रेसनको गम्भीर विरामी भएकाले औषधी सेवन गरिरहेका थिए । श्रीमतीसँग बेलाबेलामा झगडा भैरहने भएकाले अमेरिकामा त्यही क्रम दोहोरिदा घटना भएको हुनसक्ने उनले अनुमान गरे । यद्यपि, खास कारण अज्ञात नै छ र प्रहरीले अनुसन्धानको विषय बनाएको छ ।

एक वर्षअघि पोहोरको घटना

श्रीमती र दुई सन्तानलाई गोलीले उडाएर परिवार नै सखाप पारे, अन्तिममा आफैं पनि मरे

घटना जुन ६, २०२५ को हो । भर्जिनियाको मानासास पार्कस्थित लानाए लेन ९४ ब्लकस्थित अपार्टमेन्टमा बसोबास गर्दै आएको एक नेपाली परिवारमा जघन्य गोलीकाण्ड भयो । घटनामा एकै परिवारका ३८ वर्षीय सन्तोष परियार, उनकी श्रीमती ३६ वर्षीया अञ्जु श्रेष्ठ, ८ वर्षीया छोरी साइना र २ वर्षीय छोरा ओम गरी चारै सदस्यको हत्या भएको थियो ।

लामो अनुसन्धानपछि थाहा लाग्यो, सन्तोषले श्रीमती, छोरा र छोरीलाई गोली प्रहार गरी ज्यान लिएपछि अन्ततस् गोली हानेर आफ्नै ज्यान लिएका रहेछन् । नेपालमा गोरखा पालुङ्टार– ८ रातामाटे घर भएका ४० वर्षीय सन्तोष काठमाडौंस्थित अमेरिकी दूताबासमा दूतावासमा करिब १२ वर्ष जागिर खाएपछि १० वर्षअघि सपरिवार अमेरिका गएका थिए ।

घटना अन्तरजातीय विवाहको तुष र अमेरिकी जीवनको तनावग्रस्त दैनिन्दनी कारण भएको हुनसक्ने अनुमान गरियो । यद्यपि, परिवार नै सखाप भएकाले घटनाको कारणमाथि लागेको पर्दा खासै खुलेन र अब खुल्ने सम्भावना पनि छैन । थप अनुमान गर्दा जवाफ दिने सम्बन्धित पक्ष नै नभएको अवस्थामा त्यसबाट पीडित परिवारमाथि थप अन्याय पनि हुनसक्छ । यसै पनि नेपाली समाजमा मानिस नै नरहेपछि उनीहरूमाथिको टिकाटिप्पणी रिय मानिदैन ।

घटनामा छुरी प्रयोग नगरेर अमेरिकी समाजमा चलनचल्तीमा रहेजस्तै बन्दुक प्रयोग गरिएकोले घटनालाई अलि सामान्य रूपमै लिइयो । तर, पनि नेपाली समुदायका लागि भने सबै परिवार नै एकै घान बनाएको यो घटना सामान्य थिएन र हैन पनि ।

दुई वर्षअघि परारको घटना,

श्रीमती मारेर लाश नै गायब बनाए, टुहुरी छोरी अलपत्र पारेर आफैं जेल पुगे


घटना जुलाई ३१, २०२४ को हुनुपर्छ । घटनाको एकिन दिन अहिलेसम्म पनि अनुमानकै गर्भमा छ । हत्याका लागि प्रयोग भएको हुनसक्ने छुरी जुलाई ३१ मा किनिएको आधारमा यो दिन हुनुपर्छ भन्ने अनुमान हो । अझै पनि लाश नपाइएकाले आधिकारिक रूपमा घटनाले हत्याको मान्यता पाईसकेको छैन, व्यक्ति बेपत्ता भएको घटना मात्र भनिएको छ ।

हत्याको अभियोगमा मुद्दा जारी छ । हत्यारा भनिएका पुर्पक्षका लागि थुनामा छन्, हराइएकी भनिएकी पीडित महिला अझै पनि भेटिएकी छैनन् र घटनाको प्रकृति र नियत हेर्दा भेटिने सम्भावना पनि छैन ।

घटना हो, बहुचर्चित ममता काफ्ले हराएको रहस्यमय घटना । अमेरिकाको नेपाली डायस्पोरामा मात्र हैन, सिंगो अमेरिकामै ठूलो महत्व पाएको यो घटना ममताकै श्रीमान् नरेश भट्टले गराएका हुन् भनिएको छ । श्रीमतीको हत्या गरेर शरीरका अंगहरू प्लास्टिकमा पोका पोका पारेर डिफ्रिजमा राखेर पछि सार्जनिक ट्रयास क्यानमा हालेर लाश नै गायव पारिएको भनिएको यो घटना सुन्दा मात्र पनि जो कसैको आङ सिरिङ हुन्छ ।

प्रेम गरेर विवाह गरेकी श्रीमती र आफ्नै एक मात्र सानी अवोध छोरीकी आमाको ज्यान एकजना श्रीमान्(बाबुले लिएको यो घटनाले क्रुरताको सबै सीमा नाघ्छ । अहिले हत्यारा आरोपित नरेश जेलमा बसेर मुद्दा लडिरहेका छन् । उनको हत्या गरेको स्विकारेका छैनन् र लाश नभेटिएको आधारमा उनी हराइरहेकै दाबी गरिरहेका छन् । अमेरिकाको कानुनले पनि लाश नभेटिएसम्म हराएकै मान्छ ।

यतिबेला बचेकी नावालिग टुहुरी छोरी कतै आफन्तकोमा हुर्किरहेकी छन् । ममताको आत्मा कतै भौतारिरहेको होला । तर, नृशंस हत्या गर्ने भनिएका नरेश भने जेल भनिने सुविधासम्पन्न सुधार केन्द्रमा बसेर लाश नभेटिनेमा ढुक्क मात्र छैनन्, नभेटिने भएकाले आफू जेलबाट निस्केर बाँकि अमेरिकी जीवन बताउने योजना बनाइरहेका छन् ।

अमेरिकी सेनामा काम गरिसकेका वाचाल नरेशलाई कानूनका सारा छिद्रहरूको राम्रो ज्ञान छ । उनका डिफेन्स वकिलहरूलाई पनि त्यसमा महारथ प्राप्त छ । त्यसैले उनले कानूनी उन्मुक्ति पाउलान् कि भन्ने भय यहाँको नेपाली डायस्पोरामा ब्याप्त छ । मुद्दाको सुनुवाईको मिति नजिकिदै गर्दा त्यो भयले यहाँको नेपाली समुदाय स्तव्ध पनि छ ।

यो नृशंस घटनाका पछाडि नरेशको विवाहेत्तर सम्बन्धले काम गरेको हुनुपर्छ भन्ने स्थानीय नेपाली डायस्पोराका अगुवाहरूको अनुमान छ । उनीसँग सम्बन्ध भएकी युवतीको नाम पनि बाहिर आइसकेको छ। यद्यपि, अझैपनि यो अनुमान र सार्वजनिक खपतको विषय मात्रै रहेको छ, यसले कुनै आधिकारिकता पाउँन सकेको छैन ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै घट्ने यस्ता घटनाले स्वतस् मिडिया हाइप सिर्जना गर्छन् । त्यसमाथि पनि तीन वर्षयता बर्षेनी हुँदैआएका यस्ता घटनाले ह्याट्रिक पूरा हुँदा त अरू सनसनी हुने नै भयो । घटना विभत्स र नृशंस प्रकृतिका भएकाले अमेरिकामा नेपाली समुदाय एक विवेक गुमाएको अपराधक्रममा लिप्त समुदायका रूपमा बदनाम भैरहेको छ । यस्ता घटना भर्जिनियाको नेपाली समुदायको छवि बिगार्न त जिम्मेवार छन् नै, यसको असर समग्र अमेरिकाको नेपाली डायस्पोरामा पनि परिरहेकै छ ।

अमेरिकाको नेपाली समुदायका लागि यस्ता घटनाहरू व्यक्तिगत हानीका मात्रै घटना हुँदैनन्, समस्त नेपाली समुदायका लागि समेत एक हैन, अनेक कारणले घातक हुन्छन् । मूल कुरा त नेपाली समुदाय एक सुरक्षा चुनौति भएको समुदायका रूपमा स्थापित भयो भने उनीहरूलाई कसैले पनि छिमेकीका रूपमा स्विकार्दैनन् र समस्त नेपाली समुदायकै स्वीकार्यता पनि चुनौतिको विषय बन्न सक्छ ।

यस्ता जघन्य नृशंस घटनाले अमेरिकाको नेपाली समुदायलाई त यसै पनि स्तव्ध बनाउँछ नै । कामना गरौं, जुन जुन कारणले भए पनि त्यस्ता कारणहरूको मुहानलाई बुज्याउ र यस्ता घटना हुन नदिन प्रयत्न गरौं । सबैभन्दा ठूलो प्रयत्न त यस्ता घटना निम्त्याउने कारण भएकै घरबाट सुरू गर्नुपर्छ । त्यसपछि यस्ता कारणका बारेमा जानकारी छन्, उनीहरूले पनि आफूले सक्ने बेलेमा गर्नुपर्ने हुन्छ । नत्र समय बितेपछि यस्तो उस्तो कुरा काटेर केही फाइदा हुँदैन । भनाइ नै छ नि, कुराले चिउरा भिज्दैन ।

प्रतिक्रिया दिनुहोस्