
फागुन २१ गते आउँन अब ६ दिन मात्र छ । यतिबेला चुनावी सरगर्मी मात्र ह्वात्तै चुलिएको छैन, चुनावका अनेकौ डाइनामिक्सको चर्चा र परीक्षण पनि जारी छ ।
त्यस्तै एक डाइनामिक्स हो, चुनावी लहर । कोही भन्छन्, लहर आएको छ, कोही भन्छन् लहर आएको छैन । आएको छ भन्नेहरू, नयाँको पक्षमा लहर आएको छ भन्छन् र अहिले नयाँ भनेकै रास्वपा भएको छ , त्यसैले लहर घण्टीको पक्षमा आएको छ भन्छन् ।
पछिल्लो केही दिनयता गगनका कारण कांग्रेसको पक्षमा पनि लहर आएको अनुभव गर्नेहरू छन् । उनीहरू स्वयं पनि गगन आउन ढिलो भएकोले त्यसको ठूलो प्रभाव नपर्ने स्वीकार्छन् । तर उनीहरू आशावादी छन् कि गगनको कारणले रास्वपाको पक्षमा आएको लहर केही मत्थर हुन्छ ।
मैले एकजना पुराना राजनीतिक विश्लेषक मित्रलाई सोधेँ, देशमा चुनावी लहर छ ? छ भने कहाँ देखिन्छ ? उनको जवाफ थियो, सामाजिक सञ्जालमा ।
मैले पूरक प्रश्न थपें, मजस्तो सामाजिक सञ्जालमा खातापाता नभएको मान्छेले चाँहि कहाँ हेर्ने ?
उनको जवाफ थियो, त्यसो हो भने त लहर भेट्टाउन अलि गाह्रो छ । तैपनि आजका मूलधारका मिडिया हेर्यो भने पनि त्यसको आँकलन गर्न सक्नु हुन्छ ।
उनले तेस्रो उपाय पनि सुझाए, निर्वाचन क्षेत्रको स्थलगत भ्रमण गर्ने । यो त मैले पनि धेरथोर गरेकै थिए । यस क्रममा म तीनवटा क्षेत्र पुगेको थिएँ, झापा ५, सुनसरी १ र सर्लाही ४ । यी क्षेत्रको भ्रमणको क्रममा मैले आसपासका धेरै निर्वाचन क्षेत्रको चुनावी माहौल चिहाउने मौका पनि पाएको थिएँ ।
देशका यी तीन महत्वपूर्ण निर्वाचन क्षेत्रको स्थलगत भ्रमणपछि यतिबेला म काठमाडौं आइपुगेको छु । निर्वाचनको अघिल्लो दिनसम्म नेपाल रहँदा मेरो धेरै समय काठमाडौं ४ र ५ मा बित्ने छ । एक पर्यवेक्षकका रूपमा यी क्षेत्रका तीन ठूला दलका उम्मेद्वारको घरदैलो कार्यक्रममा पनि सहभागी हुने छु । मेरो अर्जुनदृष्टि भने चुनावी लहर आएको छ कि छैन भन्ने नै हुनेछ ।
यस बीचमा मैले काठमाडौं ४ र ५ को एकसरो चुनावी माहौलको पर्यवेक्षण पनि गरेको छु । त्यसको आधारमा मेरा केही हाइपोथेसिसहरू छन् :
रास्वपाको पक्षमा केही लहर त छ नै !
चुनावमा नयाँ र पुराना भन्ने विभाजन चाँहि छ, तर त्यो लहरकै अवस्थामा छैन । नयाँ भनेकै रास्वपा भन्ने खालको जबर्जस्त भाष्यचाँहि बनेकै रहेछ । यसले दुबै क्षेत्रका रास्वपा उम्मेद्वारलाई केही राहत मिलेकै जस्तो देखिन्छ । यसले प्रतिस्पर्धालाई तिनकुने बनाएकै छ ।
गगनको उत्तराधिकारी सचिन कि छोटे ओली राजन ?
काठमाडौंमा ४ मा ओली र गगन फ्याक्टर नै महत्वपूर्ण भेटिन्छ । यहाँ कांग्रेस उम्मेद्वार सचिन तिम्सिनालाई गगनको उत्तराधिकारी र एमाले उम्मेद्वार राजन भट्टराईलाई छोटे ओली भनिदो रहेछ । यसअघि पटकपटक उम्मेद्वार भैसकेका रास्वपा उम्मेद्वार पुकार वम यो क्षेत्रमा नयाँ भए पनि उनलाई नयाँको रापले खासै तताएको रहेनछ । छनौट गगनको उत्तराधिकारी कि छोटे ओलीतिर भनेर साँघुरिदै गएको देखिन्छ ।
सच्चिएको कांग्रेसका प्रदीप कि बालेन कोटाका सस्मित ?
काठमाडौं ५ मा एमालेमा अल्पमतका नेता ईश्वर पोखरेल, कांग्रेस महामन्त्री प्रदीप पौड्याल र बालेन कोटाका रास्वपा उम्मेद्वार सस्मित पोखरेलबीच नै प्रतिस्पर्धा देखियो । एमाले महाधिवेशनमा नराम्ररी पराजित ईश्वर एमालेको विपक्षमा यति ठूलो हावाहुण्डरी चलेको बेला नउठको भए हुन्थ्यो भन्ने स्थिति देखियो । रह्यो कांग्रेसका प्रदीप पौडेलको कुरा, उनी सच्चिने क्रममा रहेको कांग्रेस महामन्त्रीका रूपमा शंकाको सुविधा दिन मत मागिरहेका रहेछन् । २०७९को निर्वाचनमा यही क्षेत्रका रास्वपा उम्मेद्वार प्रणयशमशेर राणाले रास्वपा छोडेर कांग्रेस पस्दा उनलाई केही राहत पनि भएको छ ।
अझै दल नबनेको रास्वपा कि दल बनिसकेका कांग्रेस-एमाले ?
रास्वपा अझै पनि दल बनिसकेको छैन । लहडका भरमा अनलाइन फर्म भरेका पार्टी सदस्यहरू छन्, संगठन नै नभएको अवस्था छ । यस्तो अवस्थामा लहर नै सही, त्यसलाई मतमा परिवर्तन गर्ने संयन्त्र के ? प्रश्न बाँकि नै छ । यदि यी प्रश्नहरूको उत्तर बिना पनि मन मनमा परिर्वर्तन भयो भने त्यो अर्को सफल प्रयोग हुन सक्छ । तर, पुराना भनिएका एमाले र कांग्रेसको भने परीक्षण भैसकेको संयन्त्र छ । अहिलेको अवस्थामा पुराना भनिएका यी दुबै दलको पार्टी संयन्त्रले कति काम गर्छ ? त्यो चाहिँ हेर्न बाँकी छ ।
नेपालमा यतिबेला समाजिक सञ्जाल उधुम हेरिँदैछ । यसमा सूचनाभन्दा पनि भ्रमको बाढी छ । के सहि वा के गलत भन्दा पनि अल्गोरिदमले जे व्यवस्थापन गरिदिन्छ, त्यही सत्य ठानिदैछ । जनताले त्यही सत्य ठानेर मतदान गरे भने अहिले हावा चलेकै रास्वपाकै पक्षमा परिणाम पनि नदेखिने भन्ने हुन्न ।
मैले एकसरो काठमाडौं ४ र ५ घुमेर मेरा मित्रलाई आफ्नो प्रारम्भिक हाइपोथेसिस सुनाए । उनी पनि मेरो हाइपोथेसिसबाट खासै टाढा थिएनन् । उनको उल्टै प्रश्न थियो, मतदाताले नयाँका नाममा अहिले नै त्यति ठूलो जोखिम नउठाउँलान् कि ?
तपाईको विचारमा कम जोखिम के हुनसक्छ त ? यस प्रश्नको उत्तरमा उनले भने,‘सच्चिएको भनिएको कांग्रेस । सच्चिएको हो कि त्यसको परीक्षण गर्न पनि यसपटक गगन थापा नेतृत्वका कांग्रेसलाई शंको सुविधा दिए हुन्छ । रास्वपालाई प्रमुख प्रतिपक्षी दल बनाएर अर्को पाँचवर्ष परिपक्व हुने मौका दिनुपर्छ ।‘
हिजै साँझ मैले एक अमेरिकी कूटनीतिज्ञसँग कुरा गरें । उनी भनिरहेका थिए, ‘जेनजी आन्दोलनमा हाम्रो हात छैन भन्ने विश्वास दिलाउनै नै गाह्रो भैरहेको छ । हामी षडयन्त्रका सिद्धान्तहरूको खासगरी सामाजिक मिडिया ट्रायलको शिकार भैरहेका छौ । हामीलाई नेपाली जनताले मत दिएको दलसँगै मिलेर काम गर्नु छ, त्यसको विकल्प छैन । को आउँछ भन्न सकिन्न, हामी निर्वाचन परिणामको प्रतिक्षामा छौं । कम्तिमा हामीलाई आरोपित गर्ने पक्ष नआए सहकार्यका लागि सजिलो विकल्प हुन सक्थ्यो, यति चाँहि भन्न सकिन्छ ।‘
हेरौ, नयाँ भनिएको रास्वपाको पक्षमा चलेको यो सिरसिरे हावाले पुराना भनिएका खासगरी कांग्रेस र एमालेलाई उडाउन सक्छ कि सक्दै रु त्यसको उत्तर भने फागनु २१ ले नै दिने छ । आगे जनता जनार्दन ।











