
काठमाडौं, १९ कार्तिक । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणमा बुधबार नेपाल आइपुगेका उनीसँगै उनकी पत्नी विना पनि छिन् ।
बुधबार उनले वसन्तपुर दरबार क्षेत्रमा रहेका कुमारीघरगायत पुरातात्विक महत्वका मन्दिर र संरचनाको अवलोकन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । भारतीय सेनाध्यक्ष नरवणेले बुधबार साँझ पशुपति क्षेत्र गई कोभिड–१९ का कारण वाग्मती नदीपारिबाट पशुपतिनाथ मन्दिर दर्शनका साथै वाग्मती किनारको साँझको आरती अवलोकन गरेका थिए ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न यहाँ आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ ।














