Logo
Logo

नेपालको निर्वाचनलाई ‘पर्खेर र हेर्दैछ’ अमेरिका, ‘गुडबुक’मा कांग्रेस र गगन


1.8k
Shares

नेपालमा स्थायी रूपमा भूराजनीति भनेर त्यसमा अमेरिकी चलखेल देख्ने पानी ज्योतिषीहरूको संख्या दिनानुदिन बढ्दो छ । केही समयअघि जेनजी आन्दोलनमा अमेरिकी हातखुट्टा देख्ने उनीहरू यति बेला आसन्न चुनावमा अमेरिकी समर्थनलाई लिएर षडयन्त्रका सिद्धान्तहरूको मिडिया ट्रायल गरिरहेका छन् ।

के वास्तवमै अमेरिकाले नेपालको जेनजी आन्दोलनको माइक्रो म्यानेजमेन्ट गरेको थियो त ? उसका लागि अहिले यो प्राथमिकताको विषय हुन सक्छ ?

त्यति बेलाको अमेरिकाले लिएको वासिंङटन पोजिसन र उसले काठमाडौंमा सादेको मौनतालाई हेर्दा त्यस्तो केही पनि देखिदैन । यद्यपि, जेनजीले उठाएका तीन प्रमुख मुद्दा सामाजिक सञ्जालको निर्बाध पहुँच र प्रयोग, सुशासन र भ्रष्ट्राचारकाे अन्त्य अमेरिकाका स्थायी मुद्दा भएकाले यो संयोगको विषय हुन सक्छ ।  

मुद्दाहरू मिलेको अर्थमा शुभेच्छा हुनु एउटा कुरा हो तर मैदानमै उत्रेर अमेरिकाले त्यस्तो केही गरेको देखिदैन । यद्यपि, काठमाडौंस्थित अमेरिकी दूतावासको अमेरिकी युथ काउन्सिलमा सहभागी धेरै युवाहरू यो आन्दोलनको अग्रपङ्क्तिमा देखिएका थिए । त्यसलाई संजोग नमान्दा आशङ्का गर्न सकिने ठाउँ चाहिँ हुन्छ ।

आशङ्का उब्जेपछि अमेरिकाको पनि जेनजी आन्दोलनका बारेमा मुख खोल्यो, ‘नेपालको युवा आन्दोलनले पुराना सरकारलाई हटाएर लोकतान्त्रिक सहभागिताको अवसर सिर्जना गरेको उदाहरण हो ।’

अमेरिकाको भनेको यति नै हो । तर, यसैलाई पनि आआफ्नो स्वार्थअनुसार विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ, गरिएको पनि छ । युवामैत्री यस प्रकरणलाई लिएर अमेरिका युवाहरूको पक्षमा रहेको र त्यो भनेको जेनजीको पक्षमा रहेको भन्न नसकिने भएन ।

यसै गरी अमेरिका नेपालको आसन्न चुनावको बारेमा पनि धेरै बोलेको छैन । उसले अफिसियल्ली बोलेको भनेको यति मात्रै हो कि ‘नेपालको हकमा हामी के विश्वास गर्छौ भने उनीहरूले विश्वसनीय र शान्तिपूर्ण निर्वाचन प्रक्रिया अवलम्बन गर्छन् । जित्ने जुनसुकै पक्षसँग हामी काम गर्न तयार छौँ ।’

अमेरिकाले जे बोले पनि नेपालमा उसका कुनै प्रिय चाहनाहरू नै छैनन् भनेर पत्याउन सकिने अवस्थाचाहिँ छैन र हुँदैन पनि । उसका सबैभन्दा प्रिय र डिफल्ट चाहना त नेपालमा कुनै पनि सरकार चीनतिर ढल्केको नहोस् भन्ने त हुन्छ नै । यो चुनावपछि पनि ऊ त्यस्तै सरकार चाहन्छ जोसँग उसलाई सहकार्य गर्न सजिलो होस् ।

अब प्रश्न उठ्छ, को हुन्छ त त्यस्तो दल र त्यस दलको प्रधानमन्त्री ?

अहिले नेपालमा तीन ठूला दल नेपाली कांग्रेस, एमाले र रास्वपा नै चुनावको अग्रपङ्क्तिमा छन् । नेपालले यी तीन दलभित्रबाटै सरकार पाउने चुनावी आकलन छ । यी दलले आफूले चुनाव जितेमा को प्रधानमन्त्री हुने भनेर उम्मेदवार नै घोषणा गरिसकेका छन्, कांग्रेसका गगन थापा, एमालेका केपी ओली र रास्वपाका बालेन शाह ।

हुन त चुनाव पूर्व नै प्रधानमन्त्री घोषणा गर्ने संसदीय व्यवस्थाको स्थापित परम्परा र अभ्यास दुवै होइन । नेपालमा विशुद्ध संसदीय व्यवस्था नभएकाले यसमा यसअघि पनि यस्तो अभ्यास हुँदै आएको छ । यसपटक त यसले फेसनकै रूप लिएको छ भन्दा पनि हुन्छ ।

यस्तो अवस्थामा घोषणा गरिएका प्रधानमन्त्रीका उम्मेदवारले सांसद जितेर संसदीय दलको नेता पनि भए भने भन्नुपर्ने अवस्था हुन्छ । अहिले घोषणा गरिएका गगन, ओली र बालेनको हकमा पनि त्यही नै हो ।

यी तीनमध्ये ओली र बालेन दुवैले एकै निर्वाचन क्षेत्र झापा ५ मा उम्मेदवारी दिएकाले एकले त चुनाव नै जित्दैनन् । एक जनाको सम्भावना त्यही सकिन्छ । त्यहाँ अहिले को जीतको नजिक छ, भन्न सकिने अवस्था पनि छैन । गगनको पनि सर्लाही ४ मा जीत सुनिश्चित भैसकेको छैन ।

चुनावमा कुनै एक दलको बहुमत आउने सम्भावना जति छैन, त्यति नै कांग्रेस र रास्वपा मध्ये कुन ठूलो दल होला भन्न सकिने अवस्था पनि छैन । तर, एमालेचाहिँ अब तेस्रो स्थानमा पुगिसकेको छ । गगनको नयाँ नेतृत्व पाएर कांग्रेस रास्वपा सँग पहिलोका लागि प्रतिस्पर्धा गर्ने मात्र हैन, उसलाई पछाडि नै छोड्न सक्ने सम्भावना बढाउँदै छ ।

तर, यस्तो स्थितिमा पनि झापा ५ मा ओली कमजोर छैनन् । उनले त्यहाँ जित्दा तेस्रो हुने दलका प्रधानमन्त्रीका उम्मेदवारले जित्ने तर सम्भावित पहिलो हुने दलका प्रधानमन्त्रीका उम्मेदवार हार्ने अर्को अजीव परिस्थिति सिर्जना हुन्छ । त्यस्तो अवस्थामा रास्वपाको प्रधानमन्त्रीको उम्मेदवार को हुने भन्ने अर्को प्रश्न उब्जिन्छ । पार्टी सभापति रवि त जिते पनि सम्पत्ति शुद्धीकरणको फौजदारी मुद्दाको कारण संसद्को शपथ नै लिने अवस्थामा हुँदैनन्, प्रधानमन्त्री हुने कुरा त धेरै टाढाको कुरा हो ।

अब प्रश्न उठ्छ, यस्तो तरल अवस्थामा अमेरिकाको चाहना के हुन्छ त ?

यति बेला अमेरिका पर्ख र हेरको स्थितिमा छ । यसको अर्थ उसको गुड बुकमा कसैको नाम नै छैन भन्ने हुँदैन । पक्कै पनि उसको गुड बुकमा यो दलले जितोस् र यो प्रधानमन्त्री होस् भन्ने त होला नै । यसका लागि उसको पहिले स्वार्थ भनेको जित्ने दल वा नेता चीनलबीको नहोस् भन्ने नै हुन्छ । यो पनि लुकाउनुपर्ने कुनै कुरा हैन ।

अमेरिकाको गुड बुकमा को त ?

पहिला एमाले र ओलीको कुरा गरौँ । 

अहिले एमाले भनेकै ओली हो र जे भए पनि ओली वामपन्थीमै गणना हुन्छन् । अहिले उनीसँग साह्रै खुसी नभए पनि उनको इष्ट देउता चीन नै हो जो अमेरिकाको स्थायी प्रतिस्पर्धी अझ भनौँ वैरी नै हो । यस कोणबाट हेर्दा एमाले र ओली सुरूमै अमेरिकी गुड बुकमा नपर्नु स्वाभाविक हो ।

अझ, त्यसमाथि जेनजी आन्दोलनमा हत्याको आरोप लागेका तत्कालीन प्रधानमन्त्री ओली आन्दोलनमा आफ्नो कमजोरीभन्दा पनि विदेशी षडयन्त्र नै बढी देखापरिहेका छन् । नाम नलिए उनले विदेशी भनेर अमेरिकातिर चोरऔला देखाइरहेका छन् ।

यसरी अमेरिकालाई लाञ्छित गरिरहेका ओली अमेरिकाको गुड बुकमा पर्ने कुरै भएन । यति बेला ओली भनेकै एमाले भएकाले दलका हिसाबले पनि एमाले अमेरिकाको गुड बुकमा पर्दैन ।

अब रास्वपा र बालेनको कुरा गरौँ ।

अहिलेसम्म पनि रास्वपा एउटा राजनीतिक दलभन्दा पनि रवि लामिछानेको प्राइभेट लिमिटेड कम्पनीभन्दा माथि उठ्न सकेको छैन । रवि सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्तो फौजदारी मुद्दाका अभियुक्त भएकाले चुनाव जिते पनि सांसदकै शपथ ग्रहण गर्न पाउँदैनन्, प्रधानमन्त्री हुने त धेरै टाढाको कुरा हो । पार्टी सभापति रवि एकपछि अर्को मुद्दामा मुछिएपछि उनको लोकप्रियताको ग्राफ ओरालो लागेको छ । त्यो ग्राफको सोधभर्ना गर्न ल्याइएका बालेन रास्वपाका रणनीतिक उम्मेदवार मात्र हुन् । पार्टीको वरिष्ठ नेता भनिए पनि अहिलेसम्म उनलाई रास्वपाको विधानले नै चिन्दैन ।

बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि पनि रविले आफूविरूद्धको फौजदारी मुद्दा सरकारबाटै फिर्ता गराउन चलखेल गरे र त्यसमा उनलाई सफलता पनि मिल्यो । तर, अदालतले रोकिदिएपछि अहिले नै उनको त्यो चाल सफल भएन, मुल्तवीमा परेको छ । सफल भएको भए उनी नै प्रधानमन्त्रीका उम्मेदवार हुन्थे । त्यसो त बालेनलाई ओलीको गृह क्षेत्रमा उनीसँगै भिडाएर रविले नै हराउन खोजेको भन्नेहरू पनि नभएका हैनन् ।

यसो त रवि अमेरिकाको दृष्टिमा एक धोकेबाज पूर्व अमेरिकी नागरिक र फ्रड मुद्दाका फरार अभियुक्त हुन् । अहिले पनि मेरिल्यान्डको बाल्टिमोर काउन्टीमा उनीविरूद्धका तीन मुद्दाको फाइल खुल्लै देखिन्छ ।  

अमेरिकी नागरिकता त्याग्ने एक धोकेबाज पूर्वअमेरिकी नागरिकलाई अमेरिकाले गुड बुकमा राख्ने कुरै हुँदैन । अझ, भ्रष्टाचारमा शुन्य सहनशीलता र सुशासनको पक्षपाती अमेरिकाले पाँच पाँच वटा मुद्दा लागेको अभियुक्तको पक्षपोषण गर्नुपर्ने कारण पनि छैन ।

बालेन उनै रवि पार्टीको प्रधानमन्त्रीको उम्मेदवार मात्र हैनन्, आफैँमा सनकको भरमा चल्ने युवा र्यापर नै हुन् । राजनीतिक कोणबाट पूरै अनुभवहीन उनी नेपाली भर्सनको जेलेनेस्की नहोलान् भन्न सकिन्न । यस्तो अवस्थामा बालेनलाई गुड बुकमा राखेर अमेरिकाले अर्को जेलेनेस्की काँधमा बोक्नु नपर्ने हो ।

अब बाँकी रह्यो कांग्रेस र यस दलका नयाँ सभापति गगन ।

गगनले एकथान प्रधानमन्त्रीका लागि पार्टीलाई नै वामपन्थी दलहरूको सहयोगीका रूपमा उभ्याउने निर्वतमान सभापति देउवाको कब्जाबाट कांग्रेसलाई पुरानै प्रजातान्त्रिक कित्तामा फिर्ता ल्याएका छन् । यसबाट अमेरिका आफ्नो परम्परागत शुभेच्छुक पार्टी पुरानै कित्तामा फर्केकोमा खुसी भएको हुनुपर्छ । यस अतिरिक्त गगन युवा र अनुभवी पनि छन् । अमेरिकी सुप्रसिद्ध हार्वर्ड विश्वविद्यालयमा छोटै कोर्स गरे पनि प्रभावकारी छाप छोडेका छन् ।

अमेरिकी कोणबाट हेर्दा कांग्रेस र गगन कहिल्यै पनि चीनको गुड बुकमा हुन सक्दैनन् । यसो हुनु भनेको अमेरिकाको नेपाल नीतिका लागि ठूलो राहतको विषय हो ।

अर्को महत्त्वपूर्ण पक्ष, अमेरिकाले नेपाल नीति बनाउँदा चीनसँगको उतारचढाव र वैरभावले भरिएको सम्बन्धलाई सन्तुलनमा राख्न भारतीय चाहनालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । अमेरिकाले नेपाललाई दिल्लीको लेन्सबाट हेर्छ भनिनुको मूल आधार पनि यही नै हो । अहिलेको नेपालको परल राजनीतिक स्थितिमा कसैलाई गुड बुकमा राख्दा अमेरिकाले यसको पनि ख्याल राख्छ नै ।

बालेन र ओली दुवै भारतको गुड बुकमा छैनन् । यो सत्य अमेरिकालाई थाहा नहुने भन्ने कुरै हुँदैन । स्मरणीय के छ भने बालेनले यसअघि काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शनको विषयमा भड्काऊ अभिव्यक्ति मात्र दिएका छैनन्, राष्ट्रवादी देखाउन ग्रेटर नेपालको कुरा पनि उठाएका छन् । यी दुवै भारतलाई मन पर्दैनन् ।

यसै गरी ओलीले राम जन्मभूमि चितवनको ठोरी भनेर र चुच्चे नक्सा पास गरेर भारतलाई बिच्काएका छन् । नेपालमा लोकप्रिय मानिने भारत विरोधी राष्ट्रियताका नाइके ओली हुन् । उनले जेनजी आन्दोलनमा भारतको हात मात्र हैन, खुट्टा नै देखिरहेका छन् । यस्तो अवस्थामा उनी भारतीय रोजाइमा पर्दैनन् ।

बालेन र ओली भारतको रोजाइमा नपर्ने भएपछि अमेरिकालाई आफ्नो गुड बुकमा कसलाई राख्ने भन्ने निर्णय गर्न थप सजिलो भएको छ । यस्तो अवस्थामा कांग्रेस र गगन थापा नै नेपालको आकाशे छिमेकी अमेरिकाको गुड बुकमा परेका होलान् भनेर सजिलै अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्