Logo
Logo

मतदानकै दिन साँझदेखि मतगणना सुरु गरेर नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य


0
Shares

काठमाडौं । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना शुरु गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् ।

निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तिब्र पारेको उनले बताए।

प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए। मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले स्पष्ट पारे।

उनले भने, ‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदान पश्चात मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ । हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ । मतदानको दिन भन्दा पहिले नै आवश्यक एरेन्जमेन्ट मिलाएर राजनीतिक दलहरूसँग समन्वय गरेर मतगणना मतदान भएकै दिन साँझबाट मतगणना शुरु गर्ने र त्यही गन्ने कामलाई पनि छिटोछिटो बनाउने ।’

स्थानीय स्तरमा आउनसक्ने प्राविधिक कठिनाइहरूलाई ध्यानमा राख्दै आयोगले अप्टिमम रूपमा काम गर्ने लक्ष्य लिएको छ । धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्