Logo
Logo

काठमाडौं-४ मा मुख्य भिडन्त ‘छोटे ओली’ र ‘जुनियर गगन’


0
Shares


काठमाडौं ।  लगातार तीन पटक जितेर ह्याट्रिक गरेको काठमाडौं ४ छोडेर गगन थापा सर्लाही ४ तिर लागेपछि दुईवटा प्रश्न एकैसाथ उठे । पहिलो प्रश्न गगन पछि को  ? दोस्रो प्रश्न गगन हार्ने भएकाले सर्लाही गएका हुन् ? पहिलो प्रश्नको त उत्तर मिल्यो, सचिन तिमल्सेना, गगनसँगै काम गरेका निर्वाचन क्षेत्रकै कान्छो उम्मेदवार उम्मेदवार । अब दोस्रो पश्चको उत्तर आउन बाँकी छ तर अहिलेसम्मको स्थिति हेर्दा गगन हार्ने भएर यो क्षेत्र छोडेका हैनन् ।

यही प्रश्नको उत्तर खोजिरहेको काठमाडौं ४ यतिबेला चर्चाको शिखरमा छ ।  चर्चा यसकारणले पनि छ कि गगनले यो क्षेत्र छोडेपछि एमालेका राजन भट्टराई पुनः उम्मेदवार  बन्न आए । उनलाई लाग्यो कि, गगन उठ्दा जितिँदैन । तर, अरू कोही के भनेजस्तै सजिलो छ त राजनलाई ? अहिलेसम्मको चुनावी परिदृश्यले त्यस्तो देखाउँदैन । 

गगनले अप्रत्यासित रूपमा आफ्नो उत्तराधिकारी छानेका युवा कांग्रेस सचिन तिमल्सेना पनि उत्तिकै प्रतिभाशाली देखिएका छन् ।  गगनकै टिममा रहेर लामो समयदेखि काम गर्दै आएका सचिनको बहुआयामिक युवा व्यक्तित्वका कारण राजनलाई फेरि पनि निराश बनाउने सम्भावना बढ्दो छ ।  

काठमाडौं ४ यसै पनि उल्लेख्य मात्रामा काँग्रेसका प्रतिबद्ध मत रहेको क्षेत्र हो । यहाँ कांग्रेस नयाँ र फरक भएर आएको सन्देश पनि राम्रैसँग सञ्चार भएको छ । यस क्षेत्रमा काँग्रेसले उम्मेदवार पनि फ्रेस पाएको छ । उमेरले पनि लगभग जेनजी पुस्ताकै सचिन कांग्रेस विशेष अधिवेशनको समयमा जेनजी संयोजक नै थिए ।

यो क्षेत्रमा यसअघि तीन पटक गगन थापासँग पराजित भैसकेका डा। राजन भट्टराई एमाले उम्मेदवार छन् । ओली प्रधानमन्त्री हुँदा पटक पटक सल्लाहकार रहिसकेका राजन ओलीकै किचन क्याबिनेटका एक प्रभावशाली  सदस्य  हुन् । त्यही कोटरीबाट उनी केही समयअघि एमाले सचिव भए ।

भदौ २३(२४ को जेनजी आन्दोलन दबाउन ओलीलाई सल्लाह दिनेमध्येका एक राजन अत्यन्तै रक्षात्मक स्थितिमा चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष ओलीको तस्बिरसम्म प्रचार सामग्रीमा राख्न नसक्ने स्थितिका उनलाई छोटे ओलीको बदनाम परिचय मिलेको छ ।

क्षेत्रकै कान्छो फ्रेस उम्मेदवार सचिन 
कांग्रेस उम्मेदवार सचिन उम्मेदवार यस निर्वाचन क्षेत्रकै सबैभन्दा कान्छो र फ्रेस उम्मेदवार हुन् ।  नयाँ भएर आएको काँग्रेसका सचिन  गगनजस्तै तार्किक र प्रभावशाली भाषण गर्न सक्छन् । 

गगन जतिकै  भिजिनरी पनि छन्  । त्यसैले उनलाई  जुनियर गगनको परिचय मिलेको छ । नेपालकै अन्तर्राष्ट्रिय फेमका एक लोकप्रिय क्रिकेट कमेन्टेटर सचिनको राजनीतिक बाहेक अर्को एक फरक व्यक्तित्व र भूमिका पनि स्थापित  छ ।  नेपालको लोकप्रिय खेल क्रिकेटका लोकप्रिय कमेन्टेटरले यस क्षेत्रमा ठूलो संख्यामा रहेका क्रिकेट खेलाडी र  क्रिकेट शुभचिन्तकको पनि समर्थन र स्नेह पाउन सक्छन् ।  

काठमाडौं ४ पार्टी सभापति गगन थापाले ह्याट्रिक जीत निकालेको  क्षेत्र भएकाले पनि  काँग्रेसको निम्ति आफैँमा प्रतिष्ठाको क्षेत्र पनि हो । त्यसैले सारा काँग्रेसी एकजुट भएर सचिनलाई जिताउन लाग्नु स्वाभाविक हो ।  यस क्षेत्रमा नियमित महाधिवेशन र विशेष महाधिवेशनको विभाजन रेखा मेटिसकेकाले पनि सचिन थप बलिया भएका हुन् ।

देशमा चुनावी हावा आएको भनिएको दल रास्वपाको तर्फबाट  पुकार बम यस क्षेत्रमा उम्मेदवार छन् । यसअघि काठमाडौं १ मा विवेकशील साझाको उम्मेदवार बनेर पराजित पुकार साझा पृष्ठभूमिका रास्वपा उम्मेदवार हुन् । यसकारण पनि उनलाई रास्वपाका उग्र कार्यकर्ता र मतदाताले मन पराउँदैनन् ।  अहिले पनि लगभग एक्लै र सानो समूहमा चुनावी क्याम्पेन चलाइरहेका पुकारलाई रास्वपाको बतासले खासै छोएको छैन ।

यसअघि अन्य क्षेत्रमा उम्मेदवार भैसकेका रास्वपा उम्मेदवार पुकार वम यो क्षेत्रमा नयाँ भए पनि उनलाई नयाँको रापले खासै तताएको रहेनछ । छनौट जुनियर गगन कि छोटे ओली  भन्नेतिरै साँघुरिँदै गएको देखिन्छ । जनमत बिस्तारै भदौ २३(२४ का खलनायक ओलीको किचन क्याबिनेटका छोटे ओली राजनभन्दा राम्रो सम्भावना भएका युवासमेत रहेका जुनियर गगन सचिनकै पक्षमा ढल्कँदै गएको देखिन्छ ।

प्रतिस्पर्धा कांग्रेस, एमाले र रास्वपा उम्मेद्वारबीच त्रिकोणीय भए पनि अहिलेसम्मको स्थिति हेर्दा जुनियन गगन अर्थात् सचिन तिमल्सेना नै अगाडि देखिन्छन् । उनलाई छोटे ओली अर्थात् राजनले पछ्याइरहेका त छन् तर उनलाई भेट्न यो गति पर्याप्त छैन । यही क्रम अगाडि बढ्दै जाने हो भने उनी रास्वपाका पुकारभन्दा पनि पछि पर्ने सम्भावना बढ्दो छ ।

फागुन २१ गतेको चुनाव सामान्य चुनाव हैन । त्यसैले मतदाताले आवेगमा आएर  हैन, विवेकको प्रयोग गरेर मतदान गर्नुपर्ने स्थिति छ । त्यसका लागि दुई परस्पर विरोधी अतिवादी ओलीको एमाले र रविको रास्वपाभन्दा  सच्चिएको कांग्रेस छान्नु कम जोखिमपूर्ण हुनेछ । कांग्रेस सच्चिएको हो कि हैन त्यसको परीक्षण गर्न पनि यसपटक गगन थापा नेतृत्वको काँग्रेसलाई शङ्काको सुविधा दिनुपर्ने देखिन्छ । 

त्यसका लागि जुनियर गगन अर्थात्  सचिन तिमल्सेनाको जीतको स्वभावतः  ठूलो अर्थ र महत्त्व रहन्छ । यस कोणबाट पनि सचिन जिताउन काठमाडौं ४ तयार भएजस्तो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्