काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झापाको आदिवासी रंगशालाले तर्साइरहेको छ । उनी सत्तामा हुँदा वेवास्थामा पर्ने र सत्ताबाहिर हुँदा बजेट पर्ने भएपछि यो रंगशालाले ओलीलाई बेला–बेला तर्साउन थालेको हो । चुनावमा यो रंगशालाले झन बोझ बनाइदिएको छ । ओली र झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशालाबिच एउटा संयोग रहेको छ । ओली सत्ताको नेतृत्वमा रहँदा आदिवासी रंगशालाका लागि बजेट नआउने र उनी सत्ताबाहिर रहँदा बजेट पर्ने गरेको छ ।

कांग्रेस र माओवादीबिचको गठबन्ध सरकारले ०८०/८१ आर्थिक वर्षमा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानमा रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । अहिलेसम्म यो रंगशालाको नाममा चार करोड बजेट विनियोजन भइसकेको छ ।
आदिवासी रंगशालाका नाममा आर्थिक वर्ष ०६७/६८ मा एक करोड ०७०/७१ मा डेढ करोड, ०७१/७२ मा ३५ लाख रुपैयाँ विनियोजन भएको थियो । तत्कालीन सरकारले ०७२/७३ मा आदिवासी रंगशालाको नामै परिवर्तन गरेर मदन भण्डारी रंगशालाको नाममा ४० लाख बजेट विनियोजन गरेसँगै विवाद भएको थियो । त्यसपछि भने रंगशाला निर्माणको काम हुन सकेको थिएन । आर्थिक वर्ष ०८०/८१ मा सरकारले आदिवासी रंगशालाकै नाममा एक करोड बजेट विनियोजन गरेपछि बार लगाउने काम भएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा उपभोक्ता समिति बनाएर राष्ट्रिय खेलकुद परिषद्को ७६ लाख ५२ हजार २३६ र उपभोक्ताबाट ८ लाख ५४ हजार ६९२ गरी कुल ८५ लाख ४६ हजार ९२९ रुपैयाँमा ३७३ मिटरको वाल लगाइएको थियो । आर्थिक वर्ष ०८१÷८२ देखि भने यो रंगशालालाई बजेट नै परेन ।
ओली प्रधानमन्त्री भएपछि ०८२/८३ को बजेटमा यो रंगशालाको नामोनिसाना देखिएन । सरकारले आदिवासी रंगशालादेखि १० किलोमिटर पश्चिम उत्तरमा रहेको ओलीको गृहनगर दमक– ३ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा भव्य मदन भण्डारी रंगशाला बनाउन बजेट राख्यो ।
चालू आर्थिक वर्ष ०८२/८३ को बजेटमा झापा स्पोर्टस् भिलेज (मदन भण्डारी रंगशाला) दमक झापाको नाममा तीन करोड बजेट विनियोजन भएको छ । यो रंगशाला निर्माणका लागि ओलीले आफू प्रधानमन्त्री हुँदा ०७८/७९ को बजेटमै दमक– ३ को यो ठाउँमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सम्पन्न गर्ने भनेर योजना ल्याइएको थियो । यसले गर्दा ओलीलाई अप्ठेरो परेको थियो । यो रंगशालाको मैदान सम्याउनुअघि यहाँ आदिवासीको समाधिस्थल थियो । सशस्त्र प्रहरीको गण नै नजिक भएका कारण समाधिस्थल हटाएर रंगशाला बनाउने योजना अघि बढ्यो ।
रंगशालाको नाम आदिवासी रंगशाला राखिने भएपछि पुर्खाको चिहान भत्काउन आदिवासी जनजाति सहमत भएका थिए । रंगशाला बनाउन सुरु भए पनि सरकारले नाम परिवर्तन गरेपछि रंगशाला निर्माणको काम अलपत्र रह्यो । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले ०६७ मा आदिवासी रंगशालाको नाममा शिलान्यास गरेकी थिइन् ।
तर, ०७२ मा ओलीको दबाबमा सरकारले रंगशालाको नाम परिवर्तन गर्दै मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालाको नाममा बजेट विनियोजन गरेको थियो । ०६७ देखि प्रत्येक वर्ष आदिवासी रंगशालाको नाममा बजेट निकासा हुन्थ्यो । त्यसयता प्रत्येक वर्ष सरकारले मदन भण्डारी रंगशालाको नाममा बजेटमा समावेश गरे पनि आदिवासी जनजातिले विरोध गरेपछि कार्यान्वयन भने हुन सकेको थिएन । ओलीलाई यो रंगशालाले फेरि पनि तर्साएर बालेन साहलाई फकाइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष ओलीसँग काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन साह उम्मेदवार भएपछि चर्चाको शिखरमा आदिवासी रंगशाला पनि छ । साह पूर्वघोषित भावी प्रधानमन्त्रीको उम्मेदवार हुन् । ओली पटक पटक प्रधानमन्त्री भैसकेका व्यक्ति उनले घोषणा गर्नु परेन । यो सत्ता समिकरणको केन्द्रबिन्दु बनेको छ ।
मतदाता मात्र प्रतिनिधि छानिरहेका छैनन्, उनीहरूले सम्भावित प्रधानमन्त्रीको भाग्य लेखिरहेको बेला ओली आफै इतिहासकै कठिन चुनाव लडिरहेका छन भने बालेन चाहि इतिहास रच्ने दाउमा लागेका छन् । अहिले झापा क्षेत्र नम्बर ५ को निर्वाचन निकै रोचक र पेचिलो बनेको छ । झापा–५ लाई यो चुनावको इपिसेन्टरका रुपमा समेत हेरिएको छ ।











