Logo
Logo

कामचलाउ मन्त्री अमेरिकामा


2k
Shares

काठमाडौं । कामचलाउन सरकारका मन्त्री चुनाव लगत्तै अमेरिका भ्रमणमा जानेछिन् । प्रतिनिधिसभा चुनाव आउन एक हप्ता बाँकी हुँदा मन्त्रिपरिषद्को बैठकले श्रद्धा श्रेष्ठको विदेश भ्रमण स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को चार दिनअघि बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई अमेरिका जान स्वीकृति प्रदान गर्ने निर्णय गरेपछि फागुन २५ मा अमेरिका पुग्नेछिन । नयाँ सरकारको प्रकृया अघि बढ्ने बेलामा मन्त्रीको विदेश भ्रमणलाई जनताले निको मानेका छैनन ।

‘न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थितिसम्बन्धी आयोगको ७०औँ सम्मेलन (यही २५ फागुनदेखि ५ चैतसम्म)मा सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री माननीय श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने,’ मन्त्रिपरिषद्को गत बिहीबारको बैठकको १७औँ नम्बरमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयलाई निर्वाचन आचारसंहिताले भने निर्वाचन आयोगको अनुमति लिनुपर्ने भनिएको छ । ‘आयोगको अनुमतिमा मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि वैदेशिक भ्रमण गर्न नहुने,’ आचारसंहितामा भनिएको छ । मतदान सकिएको चार दिनमा मन्त्री श्रेष्ठ अमेरिका जाने तयारीमा लागेकी हुन् ।

यसअघि जेनजी मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण रोकिएको थियो । विना आयोजना सरकारी खर्चमा अमेरिका जान लागेपछि विवाद आएको थियो । विवादकै क्रममा अमेरिका जाने चाहना राखेपनि उनको भ्रमण रोकिएको थियो ।

मन्त्री गुप्तालाई अमेरिकाको टेक्सस राज्यको डालस सहरमा जनवरी १६ मा हुने ’रुल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ द नेपाल पोस्ट जेन–जी रिभोलुसन’ विषयक युवा सम्मेलनमा बोलाइएको थियो । अहिले मन्त्री श्रद्धा जाने कार्यक्रममा सचिव उर्मिला अर्याल गएपछि मन्त्री जानुनपर्ने भएपनि सरकारले भ्रमण स्वीकृत गरिदिइसकेको छ ।

यही मन्त्रीपरिषदको बैठकले ६ सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । सरकारले कार्यविधि मिचेर अवकाश पाउनै लागेका सचिवलाई समेत विदेश पठाउन लागेको हो । कार्यविधि अनुसार अवकाश पाउनै लागेको कर्मचारीले सामान्यता विदेश भ्रमण गर्न पाउँदैनन् । अवकाश पाउन लागेका कर्मचारीको विदेश भ्रमण राज्यका लागि अनुत्पादक खर्च हो । यस नियमलाई मन्त्रालयका अन्य उच्च कर्मचारीहरूले पनि बारम्बार उल्लंघन गर्ने गरेका छन् ।

आगमी चैत्र महिनामा अवकाश पाउन लागेका सचिवलाई सरकारी खर्चमा विदेश भ्रमण पठाउन लागिएको हो । सहसचिव जानु पर्ने कार्यक्रममा सचिव विदेश जान लागेको मन्त्रालय स्रोतले जनाएको छ । माथिल्लो तहका कर्मचारीमा विदेश भ्रमण गर्ने लोभ यसरी बढेको छ कि आवश्यक नभएका कार्यक्रममा पनि सरकारी खर्चबाट विदेश भ्रमण गर्न गएको देखिएको छ । सरकारी खर्च कटौतीका लागि अनावश्यक विदेश भ्रमण रोक्ने कार्यविधिको समेत उल्लंघन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्