Logo
Logo

आरजु मुछिएको मुद्दा चुनावपछि सर्यो


1.2k
Shares

काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवा मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धा अहिले पनि अन्योलमा रहेको छ । अदालतमा विचराधीन रहेका कारण आरजुसहित शीर्ष नेताहरुलाई यो मुद्दाले तर्साइरहेको छ ।

हाल पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ चुनावको मुखमा स्थगित गरिएको छ । उच्च अदालत पाटनमा रहेको सो मुद्दा सरकारी वकील कार्यालयले निवेदन दिएर स्थगित गराइएको हो ।

रायमाझी र झाले दिएको निवेदन उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा पेसी तोकिएको थियो । यसै साता यो मुद्धा स्थगित गराइएको हो । आफू चुनावअघि निस्कन नपाउने भएपछि रायमाझीले नै स्थगित गराएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्त हुन माग गर्दै दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् ।

गत पुस २५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम निवेदन दिएका हुन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) अन्तर्गत थुनामुक्त गर्न अस्वीकार गरेपछि रायमाझी सो उपर उच्च अदालत पाटन पुगेका हुन् ।

यस्तै बेचन झाले जिल्ला अदालतले छाड्न अस्वीकार गरेपछि पुस ११ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) मा दफा ६७ वा दफा ६८ बमोजिम थुनामा परेको कुनै अभियुक्त कसुरदार होइन भन्ने प्रमाणित हुन सक्ने कुनै मनासिब आधार प्राप्त हुन आएमा मुद्दाको कारबाही जुनसुकै अवस्थामा पुगेको भए पनि त्यस्तो विषयमा सुनुवाइ गरी अदालतले निजलाई थुनाबाट छाड्ने आदेश दिन सक्ने उल्लेख छ । रायमाझीले दफा ७१ (२) मा टेकेर जिल्ला अदालतमा निवेदन दिएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा २०८० असार १ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले) का तत्कालिन सचिव रायमाझी यो प्रकरणमा मुछिएका अहिलेसम्मका सबभन्दा हाइप्रोफाइल व्यक्ति हुन् । प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई पक्राउ पर्न सकेका छैनन । निरजले काठमाडौंका विभिन्न होटलमा पुगेर करोडौं रकम बुझेको प्रहरी स्रोतको भनाइ छ । यद्यपि उनी अहिलेसम्म पक्राउ परेका छैनन ।

थापाका छोरा भने अहिले केन्द्रीय कारागारमै रहेका छन् । झा भने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग जोडिएका व्यक्ति हुन । झा पक्राउ परेपछि एमाले र कांग्रेसको सरकार संयुक्त सरकार बनेको थियो ।

नक्कली भूटानी शरणार्थी बनाउने गिरोहले सम्पर्कमा आएका र चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी उनीहरूका आफन्तलाई समेत शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनी भुटानी शरणार्थीका रूपमा नाम दर्ताका लागि फारम भर्न लगाएका थिए । यस क्रममा गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको थियो ।

गिरोहले घटनाका पीडितहरूलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौंलगायत स्थानमा पटक-पटक बोलाउने गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले आफ्नो अनुसन्धान क्रममा पीडितहरूबाट विभिन्न व्यक्तिको अकाउन्टमा ६५ लाख रूपैयाँ जम्मा भएको फेला परेको पनि जनाएको छ । उनीहरूले काम नभए रकम फिर्ता गरिदिन्छु भन्दै ८ करोड रूपैयाँ बराबरको चेकसमेत लिएका थिए । यसरी उठाइएको रकम संकलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्