Logo
Logo

चुनावको मुखमा युवाहरु अझै विदेशिँदै


252
Shares

काठमाडौं । देशव्यापी चुनावी चहल पहल नजिकिँदै गर्दा स्वदेशमै रोजगारी नहुँदा मत नदिई तीन लाख युवाहरू विदेशिएका छन् । एकातर्फ विदेशमा भएका नेपालीहरूले मतदान गर्ने अवसरबाट बन्चित भैरहेको बेला असोजयता तीन लाख युवाहरू विदेशिएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने घोषणा गरेयता असोजदेखि माघसम्म पाँच महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३६ हजार ४ सय ९५ युवा बाहिरिएको तथ्यांक आएको छ ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७ सय ५, पुसमा ६२ हजार ५ सय ५९ जना र माघमा ७० हजार ५ सय ३ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।

विभागका अनुसार बिदामा नेपाल आइ पुनः रोजगारीका लागि फर्कने युवाको संख्या १ लाख ८१ हजार रहेको छ भने म्यानपावरमार्फत नयाँ रोजगारीका लागि बाहिरिने युवाको संख्या १ लाख ३९ हजार ९ सय ४८ रहेको छ । यसरी वैदेशिक रोजगारीका लागि बाहिरिने युवामध्ये पुरुषको संख्या २ लाख ९६ हजार ९ सय १ रहेको छ भने महिलाको संख्या ३९ हजार ५ सय ९४ छ ।

देशभित्र पर्याप्त रोजगारीको अवसर नै नहुँदा ठूलो संख्यामा युवाहरु विदेशिएका हुन । कोरोना महामारीका कारण देशभित्रै रोकिएका युवाहरु र जेनजी आन्दोलनपछि विरक्तिएका युवाहरु अहिले विदेशमा कामका लागि गइरहेका छन् ।

यूएई, मलेसिया, साउदी अरेबिया, कतार, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, जापानमा रोजगारीका लागि जाने गरेका छन् । दुई दिन यता मध्यपूर्वमा बढेको तनाबका कारण केही हजार युवाहरु रोकिन बाध्य भएका छन् । केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो । अहिले भने मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको छ ।

वैदेशिक रोजगार अहिले पनि नेपाली युवाका लागि मुख्य विकल्प बन्दै गएको छ । पछिल्ला तीन वर्षमा करिब २५ लाख नेपालीले रोजगारीका लागि देश छाडिसकेको अनुमान छ । हाल वार्षिक रूपमा करिब ७ लाख ६६ हजार कामदार वैदेशिक रोजगारमा जाने गर्छन्, जसमा करिब ६४ प्रतिशत नयाँ आप्रवासी कामदार र बाँकी ३६ प्रतिशत पुनः फर्केका कामदार रहेका छन् । विश्लेषकहरूका अनुसार यो प्रवृत्ति देशभित्र पर्याप्त रोजगारी अवसर नहुँदा र आर्थिक अस्थिरताका कारण युवाहरू वैदेशिक रोजगारीमा निर्भर बन्न पुगेको संकेत हो ।

प्रतिक्रिया दिनुहोस्