चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन् । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।
उनले आफैँलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
मतदानपछि उनले भने, नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन । नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्यो ।’ उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए । ‘सबैसँग म अपिल गर्छु- यो सवाल नयाँ र पुरानाको हुँदै होइन । सही र गलतको हो’, प्रचण्डले भने, ‘कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ । त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो ।’
संयोजक प्रचण्डले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए । उनले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने पनि बताए । ‘नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ, त्यो देश र लोकतन्त्रको हितमा छैन’, प्रचण्डले दोहोर्याउँदै भने, ‘सबैले आफ्नो विवेककको प्रयोग गरौँ । सहीको पक्षमा उभिऔँ ।’











