Logo
Logo

कुन नेताले कहाँ-कहाँबाट गरे मतदान, कसलाई हाले भोट ?


378
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि भएको पहिलो ऐतिहासिक निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ । देशभरका विभिन्न मतदान केन्द्रमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरूले पनि मतदान गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टोखा नगरपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२, भङ्गालस्थित साविक गाविस भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरिन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर–९ स्थित कविशिरोमणी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेसका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ को मेहेलकुनास्थित सूर्यज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । त्यसैगरी, नेता डा शेखर कोइरालाले विरानगर महानगरपालिका ७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड, महाँकाल मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१८, विजौरीस्थित जनता संस्कृत माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरबाट मतदान गरेका छन् । त्यस्तै नेकपा सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्माले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका छन् । लामो समय संसदीय निर्वाचन बहिष्कार गर्दै आएका नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पाको परिवर्तन गाउँपालिका–३ स्थित थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यता, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने मतदान गरेका छैनन्। २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका देउवाले यस पटक टिकट नपाएपछि निर्वाचन नै बहिष्कार गरेका हुन्। उनी हाल उपचारको फलोअपका लागि सिंगापुरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्