काठमाडौं । आज (बिहीबार) सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ र चितवन निर्वाचन क्षेत्र नं. २ बीच नेपाली कांग्रेस र नेकपा एमालेबीच आन्तरिक चुनावी तालमेल भएको तथ्य बाहिरिएको छ। दुवै दलले एकअर्काका उम्मेदवारलाई सघाउने सहमति अनुसार मतदान भएको बुझिएको छ।

झापा–५ मा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाहबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। विभिन्न विश्लेषणहरूले शाहलाई अगाडि देखाएपछि दुई ठूला दलबीच यस्तो रणनीति बनाइएको हो।
चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी स्वच्छ छविकी नेतृ मीनाकुमारी खरेल चुनावी मैदानमा छन्। चितवनमा रवि बलियो देखिएपछि एमालेले कांग्रेसलाई सघाएको हो । सहमति अनुसार झापामा ओलीलाई जिताउन कांग्रेसले सघाउने र चितवनमा खरेललाई जिताउन एमालेले मत दिने निर्णय भएको थियो।
चितवन–२ का एमाले उम्मेदवार अस्मिन घिमिरेका अनुसार अध्यक्ष केपी ओलीले यस विषयमा उनीसँग प्रत्यक्ष संवाद गरेका थिए । २० गते मध्यरातमा ओलीले सम्पर्क गर्न खोजे पनि कुरा हुन नसकेपछि जिल्ला नेतृत्वमार्फत ‘उम्मेदवारी निष्क्रिय बनाउनु’ भन्ने सन्देश पठाइएको थियो। आज बिहान मतदान सुरु हुनुअघि ओलीले पुनः घिमिरेलाई सम्पर्क गरी चुनावी अवस्थाबारे सोधपुछ गरेका थिए।
घिमिरेले “पहिलेको तुलनामा मत परिणाम राम्रो आउने” बताएपछि ओलीले झापाको अवस्थालाई मध्यनजर गर्दै यसपटक कांग्रेस उम्मेदवारलाई सहयोग गर्न निर्देशन दिएका थिए। झापा–५ मा ओलीको स्थिति जोखिमपूर्ण देखिएपछि उनलाई सुरक्षित गर्न घिमिरेले नेतृत्वको निर्देशन शिरोधार्य गरेको एमाले स्रोतको दाबी छ।
ओलीसँगको संवादपछि उम्मेदवार घिमिरेले मतदान केन्द्रहरूमा आफ्ना प्रतिनिधिमार्फत “आफूलाई दिने मत कांग्रेस उम्मेदवार मीनाकुमारी खरेललाई दिनुहोस्” भनी मतदाताहरूलाई आग्रह गरेका थिए। सोही सूचनाका आधारमा एमाले कार्यकर्ता र समर्थकहरूले प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार खरेललाई मतदान गरेको स्थानीय नेताहरूले बताएका छन्।











