Logo
Logo

अन्तरिम सरकार छाडेर चुनाव लडेका ४ पूर्वमन्त्रीको अवस्था कस्तो छ ?


3.8k
Shares

काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका चारजना मन्त्रीहरुले बीचमै राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका छन् । जसमा उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदिश खरेल, शिक्षामन्त्री महावीर पुन र खेलकुद मन्त्री बब्लु गुप्ताले संसदीय निर्वाचनमा भाग लिएका हुन् ।

उनीहरुमध्ये खरेल र गुप्ता रास्वपाबाट उठेका हुन् । घिसिङले उज्यालो पार्टीबाट र पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । घिसिङ काठमाडौं १ बाट, खरेल ललितपुर २ बाट, पुन म्याग्दीबाट र गुप्ता सिराहा १ बाट प्रतिस्पर्धामा छन् ।

प्रारम्भिक मतगणनामा खरेलले ललितपुर–२ मा फराकिलो अग्रता लिएका छन्। प्रारम्भिक अपडेटमै उनले जित्ने छनक मिलेको छ । खरेलले ३ हजार १९९ मत ल्याउँदा दोस्रो स्थानमा रहेका कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ४९३ र एमालेका प्रेमबहादुर महर्जनलाई ४०७ मत प्राप्त भएको छ ।

काठमाडौं ३ बाट उठेका पूर्वउर्जामन्त्री घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग संघर्ष गरिरहेका छन् । पछिल्लो अपडेट अनुसार पाण्डेलाई ६ हजार ५ सय ८४ मत आउँदा घिसिङ ४ हजार २ सय २० मतमा छन् । दुई हजारभन्दा बढी मतले पछि परिसकेका घिसिङलाई जित निकाल्न निकै मुस्किल देखिन्छ ।

म्याग्दीमा मतगणना सुरु भएर पहिलो अपडेट आउँदा महावीर दोस्रो स्थानमा छन् । नेकपाका अर्जुनबहादुर थापाले २०१ मत ल्याउँदा पुनलाई ६१ मत मात्रै आएको छ । तेस्रो स्थानमा कांग्रेसका कर्णबहादुर भण्डारीले ३७ मत ल्याएका छन् । मतगणना सुरुवाति चरणमा भएकाले यसै भन्न सकिने अवस्था छैन ।

बब्लु गुप्ता उम्मेदवार रहेको सिराहा १ मा भने मतगणना सुरु भएको छैन । यस क्षेत्रमा कांग्रेसबाट रामसुन्दर चौधरी र एमालेबाट रामशंकर यादव उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्