काठमाडौं । नेकपा एमालेको गढ मानिने रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक भूकम्प ल्याइदिएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष नेता विष्णु पौडेललाई निकै फराकिलो मतान्तरले पछाडि पारेका छन् ।
खरेलले पौडेललाई चार गुणाभन्दा बढी मतले पछाडि पार्दै आफ्नो अग्रतालाई अघि बढाएका हुन् । खरेलले १३ हजार ८६९ मत प्राप्त गर्दा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मात्र ३ हजार १३३ मत पाएका हुन् ।
रास्वपाका सुलभ खरेल र एमालेका विष्णु पौडेलबीचको मतान्तर १० हजार ७३६ पुगेको छ । नेपाली कांग्रेसका उम्मेदवार चुन्नु पौडेल १ हजार ७७९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपाका विश्वदीप पाण्डे ४०५ मतमा खुम्चिएका छन् ।











