काठमाडौं । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।

२४ हजार ७०४ मतगणना सकिँदा नेम्वाङले आठ हजार २८० मत प्राप्त गरी अग्रस्थानमा छन् । नेम्वाङलाई श्रम संस्कृति पार्टीका सुदीप राईले छ हजार ४४४ मत प्राप्त गरी पछ्याइरहेको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले बताए। नेम्वाङ र राईबीच एक हजार ८३६ मतान्तर छ ।
नेपाली कांग्रेसका भेषराज आचार्यले चार हजार ३४६ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई दुई हजार २२४ मतका साथ चौथो स्थानमा छन् ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार ४८९ मतदाता भएकामा ६६ हजार ९३४ अर्थात् ५६ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ जना प्रत्याशी छन् ।











