काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ ।निर्वाचन आयोगकाअनुसार मुगु जिल्लाबाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो ।
मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य सुरु गर्न ढिलाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले जानकारी दिए ।

उनकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिवार विहान मात्रै सकिएको हो । हाल सर्वदलीय बैठक बसेको र अपरान्ह ४ बजेदेखि मतगणना सुचारु हुने जानकारी प्राप्त भएको उनले जानकारी दिए ।
यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिवार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उनले जानकारी दिए। ती दुवै जिल्लामा अहिले मतगणना शुरु भइसकेको उनले बताए।
आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उनले जानकारी दिए।
उनले शनिबार साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आउने अपेक्षा गरिएको जानकारी दिए। शनिवारदेखि मतगणना शुरु भएका केही निर्वाचन क्षेत्रको अन्तिम परिणाम भने आईतबार साँझसम्म सार्वजनिक गरिसक्ने उनको भनाई छ ।
उनले भन्नुभयो, ‘हालसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ । एउटा मात्रै जिल्ला मुगु जिल्लाको ढुवानी कार्य भौगोलिक विकटताका कारण अलि समस्या भएको हुँदा अहिले सर्वदलिय बैठक बसिरहेको छ । अहिले ४ बजेबाट मतगणना सुचारु हुने जानकारी प्राप्त भएको छ भने सङ्खुवासभा र गोरखाको पनि हेलिकप्टरबाट आज विहान मात्रै मतपेटिका ढुवानी भएको छ । हालसम्म निर्वाचन आयोगको प्रणालीमा ५४ जिल्ला जिल्लाको मतपरिणाम प्राप्त भएको छ । आज साँझसम्म धेरै निर्वाचन क्षेत्रको परिणाम आईसक्छ ।’
प्रत्यक्षतर्फ मतगणना सम्पन्न भई परिणाम घोषणा भएका निर्वाचन क्षेत्रमा क्रमशः समानुपातिकतर्फको मतगणना पनि सँगसँगै भइरहेको उनले जानकारी दिए। उनकाअनुसार समानुपातिकतर्फ हालसम्म करिब तीन लाख मतगणना भइसकेको छ ।











