Logo
Logo

राउटेदेखी मुसहरसम्म सम्मानित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले आफ्नो ११ औ साधारण सभाका अवसरमा शीर्षा साना किसान कृषि सहकारी संस्थाका सदस्य मदनसिंह राउटेलाई उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ । साधारणसभाका अवसरमा जंगलमा बस्दै आएका राउटे समुदायलाई शिर्षा साना किसान कृषि सहकारीले अहिले आयआर्जनका काममा संलग्न गराउँदै आएको छ । पुरस्कृत हुने राउटेले बाख्रा र कुखुरापालन गर्दै आएका छन् । यसैगरी संघले लाटिकोइली, सुर्खेतका छबीलाल खड्कालाई पनि उत्कृष्ट किसानका रुपमा सम्मान गरेको छ ।
नेपालमै च्याउको बीउ उत्पादन गर्ने युवा किसान दुलारी, मोरङ्गका सरोज नेपाललाई पनि संघले सम्मान गरेको छ । साना किसान कृषि सहकारी संस्था मार्फत महको व्यवसाय गर्दै आएका मकवानपुरको काँकडाका दिपनप्रजा (चेपाङ) पनि यस वर्ष उत्कृष्ट किसान बनेका छन् । इनर्वासिरा बारा साना किसान कृषि सहकारी संस्थाकी सदस्य सबरा खातुन यस वर्ष उत्कृष्ट किसान वन्न सफल भए । उनले गाई भैंसी र बाख्रापालन गरिरहेका छन् ।

यसैगरी कुनै समय मुसा मारेर खाने जाती पविता देवीमुसहर अहिले बाख्रा पालेर राम्रो आम्दानी गर्न सफल भएकी छन् । रघुनाथपुर धनुषा साना किसान कृषि सहकारी संस्थाकी सदस्य उनलाई पनि यस वर्षको उत्कृष्ट किसान पुरस्कार प्रदान गरिएको छ । यसैगरी गाई भैंसीपालन र तरकारी खेती गरिरहेका पदरिया, सिराहाका सदस्य दिनेश शाह पनि उत्कृष्ट किसानका रुपमा सम्मानित भएका छन् । उत्कृष्ट किसानहरुलाई अर्थ मन्त्री डा युवराज खतिवडाले प्रशंसापत्र र नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघले सानाकिसान कृषि सहकारी सस्ंथा गुमी सुर्खेतकी प्रवन्धक दिपा राना, सानाकिसान कृषि सहकारी सस्ंथा रघुनाथपूर धनुषाका प्रवन्धक दिपनारायण पुर्वे र साना किसान कृषि सहकारी सस्ंथा महारानीझोडा झापाका प्रबन्धक चिरन्जीवी भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्