काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन्।
नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर काँग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उनले स्वीकार गरेका हुन् ।
जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको शुरुवात काँग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उनको भनाइ छ । रास्वपाले देशमा निराशा मात्रै छ र आफूहरू आएपछि सबै कुरा गर्न सकिन्छ भनेर स्थापित गर्न खोजेको लोकरिझ्याँइको भाष्यलाई चिर्न नसक्नु काँग्रेसको अर्को ठूलो कमजोरी भएको शर्माले बताए ।
उनले भने, ‘संसारमा दुई वटा कुरा एकदमै निश्चित हुन्छ, मृत्यु र परिवर्तन । मान्छे परिवर्तन रोजिरहन चाहन्छ । यो पटक निर्वाचनमा जाँदै गर्दा जेन–जी मुभमेण्टले चाहे पछाडि को–कोमा र के–केमा परिवर्तन भयो भन्नेकुरा मतदाता समक्ष स्थापित गर्न सकिएन । निराशा मात्रै छ र हामी आयौँ भने सबै कुरा गर्नसक्छौँ भनेर स्थापित गर्न खोजिएको जुन भाष्य साथीहरूले गर्नुभयो, त्यसलाई चिर्न सकिएन । नेपाली काँग्रेस पार्टी रूपान्तरित भएको छ र नयाँ अनुहारहरू थुप्रै लिएर गएको छ भन्ने स्थापित गर्न सकिएन ।’
देशमा केही राम्रा कामहरू पनि भइरहेका छन् भन्ने यथार्थलाई स्थापित गर्न नसक्दा नयाँ दलहरूले त्यसको फाइदा उठाएको उनको दाबी छ।











