Logo
Logo

टी- २० विश्वकप : उपाधिका लागि आज भारत र न्युजील्यान्ड भिड्दै


315
Shares

काठमाडौं । जारी टी-२० विश्वकप २०२६ को उपाधिका लागि आज भारत र न्युजील्यान्ड आमने सामने हुँदै छन् । यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा नेपाली समय अनुसार साँझ ७ : १५ बजेदेखि सुरु हुँदै छ ।

The current image has no alternative text. The file name is: cricket.jpg

दुवै टोली उपाधिबाट एक कदम मात्र टाढा रहेका कारण फाइनल खेल निकै रोचक हुने अपेक्षा गरिएको छ । प्रतियोगिताभर भारतको ब्याटिङ निकै प्रभावशाली देखिएको छ भने न्युजील्यान्डका बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । त्यसैले फाइनलमा बलियो ब्याटिङ र अनुशासित बलिङबीचको रोचक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

भारतका लागि सञ्जु सामसन र इशान किशन उत्कृष्ट लयमा देखिएका छन् । सामसनले चार खेलमा २३२ रन बनाएका छन् भने किशनले आठ खेलमा २६३ रन जोडिसकेका छन् । टोलीका कप्तान सूर्यकुमार यादवले पनि २४२ रन बनाएका छन् । यस्तै हार्दिक पाण्ड्याले अलराउण्ड प्रदर्शन गर्दै ब्याटबाट १९९ रन बनाउनुका साथै बलिङतर्फ आठ विकेट लिएका छन् । तिलक वर्मालाई अन्तिम क्रममा ब्याटिङ गराउने निर्णय पनि टोलीका लागि लाभदायक बनेको छ ।

तर भारतका लागि बलिङ भने चिन्ताको विषय बनेको छ । जसप्रित बुमराह बाहेक अन्य बलरहरू अपेक्षाअनुसार प्रभावकारी देखिएका छैनन् । बुमराहले सात खेलमा १० विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका छन् । अर्शदीप सिंहको प्रदर्शन भने उतारचढावपूर्ण देखिएको छ भने वरुण चक्रवर्तीबाट पनि अपेक्षित सफलता मिल्न सकेको छैन ।

यता न्युजील्यान्डको सबैभन्दा बलियो पक्ष बलिङ रहेको छ । म्याट हेनरी र लोकी फर्ग्युसनको तीव्र बलिङले विपक्षी ब्याटरलाई निकै दबाबमा पारेको छ । कप्तान मिचेल स्यान्टनरले किफायती बलिङ गर्दै रनको गति नियन्त्रण गरेका छन् भने रचिन रविन्द्रले स्पिन बलिङबाट विकेट निकाल्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन् । रविन्द्रले प्रतियोगितामा ११ विकेट लिइसकेका छन् ।

न्युजील्यान्डको ब्याटिङतर्फ शीर्ष क्रममा रहेका टिम सिफर्ट र फिन एलेन उत्कृष्ट लयमा छन्। सिफर्टले सात खेलमा २७४ रन बनाएका छन् भने एलेनले २८९ रन जोडेका छन् । उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक प्रहार गर्दै आफ्नो आक्रामक क्षमता देखाएका थिए ।

फाइनल खेलको नतिजा धेरै हदसम्म भारतको बलियो ब्याटिङले न्युजील्यान्डको अनुशासित बलिङविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहने देखिन्छ । यदि भारतीय ब्याटरहरूले सुरुदेखि नै आक्रामक रूपमा रन बनाउन सके खेलमा भारतको पकड बलियो हुन सक्छ । तर न्युजिल्यान्डका बलरहरूले सुरुवाती विकेट लिन सफल भए खेलको दिशा बदलिन पनि सक्छ ।

समग्रमा हेर्दा अहमदाबादमा हुने फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। भारत लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ भने न्युजील्यान्ड पहिलोपटक यो उपाधि जित्ने प्रयासमा मैदान उत्रनेछ ।

सम्भावित प्लेइङ ११ :

भारत : संजु सामसन (विकेटकिपर), अभिषेक शर्मा, इशान किशन, सूर्यकुमार यादव (कप्तान), शिवम दुबे, तिलक वर्मा, हार्दिक पाण्ड्या, अक्षर पटेल, वरुण चक्रवर्ती, जसप्रीत बुमराह र अर्शदीप सिंह ।

न्यूजील्याण्ड: टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स नीशम, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी र लकी फर्गुसन । 

प्रतिक्रिया दिनुहोस्