
काठमाडौं । जेनजी आन्दोलन सम्बन्धी घटना छानविन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आज सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।
छानबिन समितिका सदस्य विज्ञानराज शर्माले आफूले भदौ २३ र २४ गतेको घटनाको निचोडसहित प्रतिवेदन बुझाएको जानकारी दिए । उनले गल्ती गर्नेहरूलाई अभियोग प्रतिवेदनमा उल्लेख गरिएको बताए ।
‘हामीले प्रतिवेदन सरकारलाई बुझाइसकेका छौँ। त्यो सरकारको सम्पत्ति भइसक्यो । अब के गर्नुपर्ने हो सरकारले गर्छ । हामीले केहीलाई कारबाही सिफारिस गरेका छौँ । कति र कसलाई भन्न मैले मिल्दैन ।’
उनले प्रतिवेदन करिब ८ देखि १० हजार पेजको रहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि फौजदारी अभियोगबारे उनले भने, ‘जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुई मत छैन ।’











