काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल टोली पोखरा एभेन्जर्सको पोष्टमा गरेको अनपेक्षित प्रतिक्रिया न्यूजिल्याण्डका क्रिकेट खेलाडी जिम्मी निसमले हटाएका छन् । पोखराले निसमको तारिफ गर्दै गरेको पोष्टमा निसमले अनपेक्षित प्रतिक्रिया जनाएका थिए ।

आइतबार राति टी-२० विश्वकपमा भारतसँग पराजित भएको न्यूजिल्यान्डको टिमका सदस्य रहेका निसमले ‘खेलाडीहरुलाई पैसा तिर’ भन्दै कमेन्ट गरेका थिए । एभेन्जर्सले लेखेको थियो, ‘उनले पोखरा एभेन्जर्सका लागि खेलेकोमा हामीलाई गर्व छ । न्यूजिल्यान्ड उपविजेतामा सिमित हुनु दुर्भाग्यपूर्ण रह्यो ।’ त्यसको कमेन्टमा निसमले जवाफ दिएका थिए, ‘कुल, पे योर प्लेयर्स’ ।
निसमले अहिले कमेन्ट हटाएका छन् । एनपीएलमा आवद्ध हाइप्रोफाइल विदेशी खेलाडीहरुमध्ये एक निसमले पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । दोस्रो संस्करणमा उनी पोखरा एभेन्जर्समा अन्तिम समयतिर अनुबन्धित भएका थिए । उनले एभेन्जर्सबाट सम्झौता बमोजिम ४ वटा खेलमात्र खेलेका थिए ।
निसमले एनपीएलका लागि कुनै एड्भान्स रकम लिएका थिएनन् । नेपालमा राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएलगत्तै ५० प्रतिशत रकम भुक्तानी पठाउने र त्यसको २८ दिनभित्र बाँकी रकम पठाउने गरी सम्झौता भएको जनाइको छ । तर, राष्ट्रिय खेलकुद परिषद्बाट सिफारिस आउन ढिलाइ भएकाले अहिलेसम्म भुक्तानी हुन नसकेको पोखरा एभेन्जर्सले जाएको छ ।











