Logo
Logo

मन्त्रीका भाइको संसदीय यात्रा


1.8k
Shares

काठमाडौं । श्रममन्त्रीका भाई पनि निर्वाचनमा भाग लिएर विजयी भएको कुरा धेरैलाई थाहा नहुन सक्छ । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी श्रममन्त्री राजेन्द्रसिंह भण्डारीका आफ्नै भाइ हुन् । पूर्वएआइइजी रहेका श्रममन्त्री भण्डारीले भाइलाई रास्वपा प्रवेश गराएर टिकट दिलाएको चर्चा छ ।

मन्त्री भण्डारीका भाई हरिमोहन भण्डारी रास्वपाबाट विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसका नेता एवम् नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित दोस्रो स्थानमा रहेका छन् । उनी संसदीय चुनावमा पहिलो पटक होमिएका हुन् ।

नेकपा एमालेका उम्मेदवार तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १७ हजार ०९१ मतसहित तेस्रो स्थानमा झरे । ह्याट्रिक गर्ने उदेश्यसहति मैदानमा उत्रिएका भण्डारीले यसपटक नमिठो हार व्यहोरेका छन् ।

भण्डारी २०७०, २०७४ मा र २०७९ मा तीन पटक विजयी भएका थिए । हाल विजयी भएका भण्डारी भने ठेक्का पट्टामा सक्रिय थिए । ठेक्का पट्टामा सक्रिए भएका बेला दाजु श्रममन्त्री भएपछि रास्वपामा लागेका थिए ।

रास्वपाले बैतडीमा गतिलो उम्मेदवार फेला नपारेका बेला हरिमोहन भण्डारीलाई उम्मेदवार बनाएको थियो । भण्डारी यसअघि २०७४ र २०७९ मा प्रदेससभा सदस्यमा पराजित भएका थिए । बैतडी १ (१) मा २०७४ मा कांग्रेसबाट प्रदेशसभा सदस्य उठेका उनी पराजित भएका थिए ।

२०७९ मा पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । एक महिना अगाडिमात्रै भण्डारी रास्वपामा आवद्ध भएका हुन् । त्यतिबेला कांग्रेसलाई हराउन ठुलो भूमिका खेलका भण्डारीले यसपटक आफै उम्मेदवार बनेर संसदीय यात्रा तय गरेका छन् । यसअघि एमालेका दामोदर भण्डारी दुई पटक मन्त्री हुँदा करोडौ करोड भ्रष्टचार गरेको आरोप लागेको थियो ।

उद्योगमन्त्री हुँदा सुपारी तस्करीलाई सहयोग पुर्याएको आरोप लागेका भण्डारीलाई बैतडीबासीले तेस्रो नम्बरमा पुर्याइदिएका छन् । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भण्डारी उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री थिए । बैतडीबाट निर्वाचित सांसद भण्डारी चौथो पटक मन्त्री बनेका थिए । उनले दुईपटक उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

भण्डारी २०७२ सालमा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनेका थिए। २०७९ सालमा छोटो समयका लागि उद्योग मन्त्री बनेका भण्डारी २०८० साल फागुन २३ गते तेस्रो पटक मन्त्री बनेका थिए । भण्डारीले लगातार तेस्रो पटक बैतडीबाट निर्वाचित भएपनि अहिले रास्वपाले उनलाई तेस्रो बनाइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्