काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले इरानी ड्रोन आक्रमणको सामना गरिरहेका खाडी राष्ट्रहरूलाई सहयोग गर्न आफ्ना सैन्य विज्ञहरू त्यसतर्फ प्रस्थान गरेको बताएका छन् । ती विज्ञहरूले खाडी राष्ट्रहरूलाई ड्रोन खसाल्ने अनुभव बाँड्ने जेलेन्स्कीले बताएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै जेलेन्स्कीले युक्रेनसँग ‘अट्याक ड्रोन’हरूलाई विफल पार्ने विश्वकै उत्कृष्ट अनुभव रहेको दाबी गरेका छन् ।
उनका अनुसार युक्रेनको अनुभवविना मध्यपूर्व, युरोप र अमेरिकाका लागि पनि बलियो सुरक्षा प्रणाली निर्माण गर्न कठिन हुनेछ ।विगत चार वर्षदेखि रुसी ड्रोनहरूको सामना गरिरहेको युक्रेनले यस सङ्कटको घडीमा खाडी मुलुकहरूलाई प्राविधिक सहयोग गर्ने इच्छा व्यक्त गरेको छ ।
उनले भनेका छन्, ‘जसले अहिले युक्रेनको सहयोग खोजिरहेका छन्, उनीहरूले हाम्रो रक्षाका लागि, विशेष गरी हाम्रो वायु रक्षा प्रणालीका लागि सहयोग जारी राख्नुपर्छ ।’
अमेरिका र इजरायलले इरानमा फेब्रुअरी अन्तिम साता संयुक्त आक्रमण गरेका थिए । सो आक्रमणबाट इरानका सर्वोच्च नेता खामेनी लगायतका नेताहरू मरिएका थिए । त्यसयता इरानले इजरायल र खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गरी हमला गर्दै आएको छ ।











