Logo
Logo

भारत रुसबाट ३ करोड ब्यारेल कच्चा तेल किन्दै


1.5k
Shares

काठमाडौं । इरान र इजरायलबीच जारी द्वन्द्वका कारण हर्मुज जलडमरूमध्यमार्फत हुने कच्चा तेल आपूर्ति प्रभावित भएपछि भारतले रुसबाट करिब ३ करोड ब्यारेल कच्चा तेल किन्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था ब्लूमबर्गको रिपोर्टअनुसार भारतका प्रमुख कम्पनीहरू इन्डियन आयल कर्पोरेसन र रिलायन्स इन्डस्ट्रिजले रुसबाट तेल खरिदका लागि सम्झौता गरेका छन् । यी कम्पनीहरूले समुद्रमा रोकिएका रूसी तेल ढुवानी जहाजबाट तेल किन्ने व्यवस्था मिलाएका हुन् । रिपोर्टका अनुसार इन्डियन आयल कर्पोरेसनले करिब १ करोड ब्यारेल र रिलायन्सले पनि कम्तीमा १ करोड ब्यारेल कच्चा तेल किनिसकेको छ । बाँकी तेल अन्य भारतीय रिफाइनिङ कम्पनीहरूले खरिद गरेका छन् ।

ढुवानी सम्बन्धी तथ्यांकले रूसी तेल बोकेका केही ठूलो ट्यांकर जहाजहरूले आफ्नो गन्तव्य परिवर्तन गरेर भारततर्फ मार्ग मोडेको देखाएको छ । पहिले सिंगापुरतर्फ जाँदै गरेका केही जहाज अहिले भारतीय बन्दरगाहतर्फ लागेका छन् ।

पछिल्ला केही महिनामा भारतले रुसबाट तेल आयात घटाएर साउदी अरब र इराकबाट बढी तेल किन्न थालेको थियो । तर मध्यपूर्वमा बढ्दो तनावका कारण ऊर्जा आपूर्ति सुरक्षित राख्न भारतले फेरि रूसतर्फ ध्यान केन्द्रित गरेको हो ।

इरानले हर्मुज जलडमरूमध्यको मार्ग अवरुद्ध गरेपछि विश्वको करिब २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको बताइएको छ । भारतले आफ्नो आवश्यकता पूरा गर्न प्रयोग गर्ने कच्चा तेलको ठूलो हिस्सा यही मार्गबाट आउने भएकाले अहिले वैकल्पिक आपूर्ति मार्गहरू प्रयोग गर्न थालेको छ ।

हाल भारतले हर्मुज मार्ग बाहेक अन्य मार्गबाट आउने कच्चा तेलको आयात बढाएर करिब ७० प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो आयात करिब ६० प्रतिशत थियो । सरकारी अधिकारीहरूका अनुसार भारतको ऊर्जा भण्डार पनि पछिल्लो समय बढ्दै गएको छ, जसले आपूर्ति व्यवस्थापनमा थप विश्वास बढाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्