काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरमा गत शनिबार बलात्कारपछि हत्या गरिएकी इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ ।

सुर्खेत प्रहरीले थप अनुसन्धानका सहयोग मागेपछि सीआईबीले त्यसका लागि प्रहरी निरीक्षकको कमाण्डमा ब्यूरोको विज्ञ टोली पठाउन लागेको हो। टोली बिहीबार नै सुर्खेत आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीराज शाहीले जानकारी दिए।
सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान सकेको शाहीले बताए। जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ टोलीले पनि काम गरिरहेको छ।
घटनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ। फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत सामग्री अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरीले जनाएको छ।
अनुसन्धानको कुनै पनि पाटो नछुटोस् भनेर सीबीआईको सहयोग मागेको सुर्खेत प्रहरीले जनाएको छ।











