
नेपालको लोकतान्त्रिक विकासक्रममा एउटा मानक भाष्य सधैँ गुञ्जिरहन्छ– ‘हाम्रोलाई होइन, राम्रोलाई रोजौँ’ यो केवल चुनावी नारा मात्र होइन, दशकौँदेखि गुम्सिएको जनआकांक्षाको प्रतिध्वनि र विद्यमान राजनीतिक बेथितिमाथिको प्रहार पनि हो । तर, विडम्बना के छ भने जब–जब परिवर्तनको घडी आउँछ, मतदाताको निर्णय प्रक्रियामा ‘विवेक’भन्दा ‘आवेग’ हाबी हुने गरेको छ ।
प्रजातन्त्र पुनःस्थापनापछिको साढे तीन दशकको राजनीतिक यात्रामा नेपाली राजनीतिमा फेरि ‘प्याराडाइम सिफ्ट’ भएको छ । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीले ऐतिहासिक पाएको थियो । त्यो त्यसबेलाको परिवर्तनको तीव्र आकांक्षाको प्रतीक थियो । तर, लगभग १८ वर्षपछि फेरि त्यस्तै राजनीतिक उलटफेर देखियो ।
यसपटक मतदाताले एउटा नयाँ भरोसासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अभूतपूर्व जनमत सुम्पिएका छन् । अर्कोतर्फ, इतिहासको लामो विरासत बोकेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता स्थापित शक्तिहरूले भने आफ्नै अकर्मण्यता र जनअपेक्षा प्रतिको उदासीनताका कारण कठोर दण्ड पाएका छन् । वास्तवमा, जनभावनालाई उपेक्षा गर्ने यी दलहरूका लागि यो परिणाम एक अनिवार्य र स्वाभाविक न्याय जस्तै सावित भएको छ ।
बारम्बार सत्ताको बागडोर सम्हालेर पनि जनताको आपेक्षाअनुसार काम गर्न नसक्दा रास्वपालाई प्राप्त भएको यो भारी मत परिवर्तनको भोकको उपज हो । यो परिवर्तन आवश्यक पनि थियो । यदि पुराना दलहरूलाई जनताले अझै पनि निःशर्त समर्थन दिइरहे भने नेपालको राजनीति अझ गहिरो दलदलमा फस्ने निश्चित थियो ।
तर, परिवर्तनको जोशमा हामीले गुण र दोष छुट्याउने ‘होस’ पनि गुमाएको छौँ । काठमाडौँ क्षेत्र नं. ३ को चुनावी परिणाम यसको ज्वलन्त उदाहरण बनेको छ । अन्धकारबाट नेपाललाई उज्यालोतर्फ डोहो¥याउने ‘नायक’ कुलमान घिसिङको पराजयले नेपाली मतदाताको विरोधाभासी चरित्रलाई नग्न रूपमा प्रदर्शन गरेको छ । परिवर्तन खोज्ने मतदाता स्वयं कुलमानको हारमा दुखी छन्, तर उनीहरूले नै परिवर्तनको सिम्बोल घण्टी रोज्दा व्यक्तिगत क्षमता र योगदानलाई तिलाञ्जली दिए ।
यही नियति अन्य केही नेताले पनि भोगे । दुई कार्यकाल मेयर भएर भरतपुर महानगरपालिकाको विकासको प्रतिक बनेकी रेणु दाहालले पनि मतदाताको विश्वास जोगाउन सकिनन् । त्यस्तै, अपेक्षाकृत सक्रिय र काममुखी मानिएका नेताहरू नारायणकाजी श्रेष्ठ, सुनील शर्मा, प्रेम सुवालको चुनावी परिणाम पनि उस्तै निराशाजनक रह्यो ।
विवेकहीन मतदानको पराकाष्ठा धनुषा क्षेत्र नं १ मा देखियो, जहाँ रास्वपाको उम्मेदवार नै मैदानमा थिएनन् । उम्मेदवार नभएको अवस्थामा पनि त्यहाँ घण्टी चिह्नमा २० हजार ९१६ मत खस्नु आफैँमा आश्चर्यजनक छ । रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज हुँदा पनि अन्य प्रतिस्पर्धीको तुलनामा घण्टीले १३ हजारभन्दा बढीको अग्रता लिनुले मतदाताको अन्धआवेगलाई प्रस्ट्याउँछ । उम्मेदवारी नै नरहेको चिह्नमा खसेको यो अत्यधिक मतका कारण निर्वाचन आयोगले समेत त्यहाँको परिणाम सार्वजनिक गर्न अलमल गरिरहेको छ ।
यसले नेपाली राजनीतिको एउटा गहिरो र तितो विडम्बनालाई उजागर गरेको छ । दशकौँदेखि नेपाली जनता ‘राम्रो नेतृत्व’ को खोजीमा छन्, तर व्यवहारमा भने क्षमतावान् र परिणाममुखी व्यक्तिहरूलाई नै लहरको भुमरीमा बगाइदिन्छन् ।
परिवर्तनको चाहना कहिलेकाहीँ विवेकभन्दा बलियो हुन्छ । जब जनतामा असन्तोष चरम बिन्दुमा पुग्छ, तब उनीहरू व्यक्तिभन्दा लहरलाई प्राथमिकता दिन थाल्छन् । अहिले धेरै ठाउँ भएपनि त्यही हो । जसले रास्वपलाई फाइदा पुग्यो ।
नेपाली जनता दशकौँदेखि ‘राम्रा’ नेताको खोजीमा छन् । ‘हाम्रोलाई होइन, राम्रोलाई जिताऔँ’ भन्ने नारा घन्काउँछन् । जसले राजनीतिक र आर्थिक रूपमा कुशल नेतृत्वको तिर्खा झल्काउँछ । तर, व्यवहारमा यो आकांक्षा सधैँ अधुरो देखिन्छ । आखिर किन जनताले ‘राम्रो’ काम गर्नेहरूलाई नै चुनावी मैदानमा पराजित गर्छन् ? यो प्रश्न अहिले पेचिलो बनेको छ ।
राजनीतिक अस्थिरता र पुराना दलहरूको कार्यशैलीबाट थाकेका नागरिकले नयाँ विकल्प खोज्नु स्वाभाविक हो । यही निराशाको जगमा नयाँ राजनीतिक शक्तिहरूको उदय हुन्छ । जनताको आक्रोश र परिवर्तनको चाहनाले एउटा लहर त सिर्जना गर्छ, तर त्यो लहरले व्यक्तिको क्षमता र अनुभवलाई भन्दा पनि ‘प्रतीक’ र ‘नारा’ लाई बढी प्राथमिकता दिने गरेको छ । अहिले भएको पनि त्यही हो ।
यसपटक धेरै ठाउँमा मतदाताले उम्मेदवारको व्यक्तिगत योग्यताभन्दा पार्टीको चुनाव चिह्नलाई मात्र हेरेर मतदान गरे । उम्मेदवार को हो भन्ने नै थाहा नपाई मतदान गर्नुले एउटा गम्भीर प्रश्न खडा गरेको छ– यदि मतदाताले उम्मेदवारको अनुहार नै चिन्दैनन् भने ‘राम्रोलाई जिताऔँ’ भन्ने नाराको सान्दर्भिकता कहाँ रहन्छ ?
रास्वपाले अहिले जुन मत पायो त्यो पूराना दलप्रतिको वितृष्णाको उपज हो । जनताले यहाँ व्यक्ति रोजेका होइनन्, बरु पुराना शक्तिलाई ‘दण्ड’ दिन खोजेका हुन् । यस प्रक्रियामा पुराना दलभित्र रहेका केही आशालाग्दा र राम्रा पात्रहरू पनि सामूहिक आक्रोशको सिकार बन्न पुगे ।
कुलमान र रेणुजस्ता पात्रहरूको व्यक्तिगत कामलाई धेरैले ‘राम्रो’ माने पनि उनीहरू आबद्ध रहेको दलप्रति भने मतदाताको दृष्टिकोण सकारात्मक छैन । यस्तो अवस्थामा व्यक्तिको सकारात्मक छवि दलको नकारात्मक छायाँमा ओझेलमा पर्न जान्छ । र, जनतामा विवेकभन्दा आवेग हाबी हुने गरेको छ । जसले ‘हाम्रोलाई होइन, राम्रोलाई रोजौँ’ भन्ने भाष्य सँधै विरोधाभास हुने गरेको पाइन्छ ।
जब कुनै कुशल प्रशासक चुनावी मैदानमा उत्रिन्छ, उसलाई अब ‘सफल व्यवस्थापक’का रूपमा होइन, ‘कुनै एक राजनीतिक दलको प्रतिनिधि’का रूपमा हेरिन थालिन्छ । सेवा प्रदायकका रूपमा बनेको विश्वसनीय छवि जब राजनीतिक कार्यकर्ताको पहिचानमा रूपान्तरित हुन्छ, तब जनताको प्रशंसा भोटमा परिणत हुन सहज हुँदैन ।
लोकतन्त्रमा परिवर्तनको चाहना मात्र पर्याप्त हुँदैन, त्यसलाई दिशानिर्देश गर्ने विवेक पनि आवश्यक हुन्छ । यदि राम्रोको परिभाषा केवल ‘नयाँ’मा मात्र सीमित भयो भने लोकतन्त्र फेरि अर्को निराशाको चक्रमा फस्न सक्छ । नयाँ हुनु आफैँमा योग्यता होइन, यसका लागि स्पष्ट दृष्टि, क्षमता र संस्थागत प्रतिबद्धता अनिवार्य छ ।
नेपाली मतदातामा अझै पनि एउटा विरोधाभास छ– हामीलाई कुशल नेतृत्व त चाहिन्छ, तर मतदानको क्षणमा हामी नीतिगत मूल्यांकनभन्दा पनि भावना, प्रचार र आवेशबाट निर्देशित हुने गरेका छौँ । यद्यपी, अहिलेको निर्वाचनमा धेरै ठाउँमा भने मतदाताले विवेक पनि पु¥याएको देखिन्छ । पार्टीभन्दा व्यक्ति हेर्ने मतदाता पनि छन् ।
जनताले ‘राम्रो’ खोज्नु र ‘नयाँ’ रोज्नुका बीचमा अझै ठूलो खाडल छ । ‘राम्रोलाई होइन, हाम्रोलाई’ भन्ने प्रवृत्तिबाट नेपाली समाज पूर्णरूपमा मुक्त भइसकेको छैन । अहिले ‘राम्रो’ भनिएकाहरू हार्नुको एउटा मुख्य कारण उनीहरू असफल प्रणालीका अंग हुनु पनि हो । जनता अहिले पात्र मात्र होइन, समग्र प्रणाली नै फेर्न चाहन्छन् । तर, यो परिवर्तनलाई टिकाउन मतदाताको राजनीतिक चेतना र सूचनामा आधारित निर्णय प्रक्रिया अझै परिपक्व हुन जरुरी छ । ०००











