
file photo
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतार एयरवेजले दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन गर्ने भएको छ ।
कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले सूचना जारी गर्दै मुख्यगरी समस्यामा परेका यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुग्न र परिवारसँग पुनर्मिलन गराउनका लागि उडान सञ्चालन गरिएको जानकारी दिएको हो ।
दोहाबाट काठमाडौंका लागि मार्च १६ र १७ मा उडानहरू तय गरिएका छन् भने काठमाडौंबाट दोहाका लागि मार्च १७ र १८ मा उडान हुने तालिका रहेको छ । यसबाहेक दिल्ली, मुम्बई, लण्डन, न्युयोर्क, बैंकक र ढाका जस्ता प्रमुख सहरहरूमा पनि मार्च १५ देखि १७ सम्म सीमित उडानहरू सञ्चालन हुनेछन् ।
साथै फेब्रुअरी २८ देखि मार्च २८ सम्मको कन्फर्म टिकट भएका यात्रुहरूले अप्रिल ३० सम्मका लागि निःशुल्क मिति परिवर्तन गर्न वा आफ्नो टिकटको पूरा पैसा फिर्ता लिन सक्ने सुविधा दिइएको छ ।
हाल मध्यपूर्व क्षेत्रमा तनाव बढेसँगै केही देशहरूले हवाई मार्गमा सतर्कता अपनाइरहेका छन् । र कतिपय उडानहरू रद्द वा मार्ग परिवर्तन गरिएको अवस्था छ । क्षेत्रीय तनावका कारण उडान व्यवस्थापनमा चुनौती बढिरहेका बेला दोहा–काठमाडौं हवाई सम्पर्क कायम रहने संकेतलाई सकारात्मक मानिएको छ ।











